
नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। मोन्टेरे स्टेडियममा मंगलबार भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।
निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो। नाटकिय बनेको पेनाल्टी सुटआउटमा मोरक्कोले ३-२ को जित निकाल्दा गोलकिपर यासिन बोनो नायक बने।
पेनाल्टी सुटआउटमा दुवै टोलीका दुई-दुई खेलाडीहरू गोल गर्न चुकेका थिए। मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी र इस्माइला साइबरीले पेनाल्टीलाई गोलमा परिणत गरे।
टोलीका नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो। नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए।
नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्ट र क्विन्टन टिम्बरको प्रहार बाहिरिएको थियो। क्रइसेन्सियो समरभिलको अन्तिम प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बोनोले बचाउँदै टोलीको जित सुनिश्चित गरे।
त्यसअघि खेलको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले क्रइसेन्सियो समरभिलको उत्कृष्ट पासमा गोल गर्न सफल भएका हुन्।
तर नेदरल्यान्ड्सले खेलको अन्तिम समयमा आफ्नो अग्रता जोगाउन सकेन। खेलको इन्जुरी समयको पहिलो मिनेटमा मोरक्कोका इसा डिओपले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
उनले चेम्सडाइन ताल्बीको पासलाई सदुपयोग गर्दै टोलीलाई खेलमा फर्काएका थिए। त्यसपछि थप गरिएको अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको फैसला पेनाल्टीबाट गरिएको हो।









प्रतिक्रिया