कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का तोड्न प्रक्रिया सुरु

सडक डिभिजन कार्यालय जुम्लाले ठेक्का सम्झौता गरेर वर्षौंदेखि काम अलपत्र पार्ने निर्माण व्यवसायीविरुद्ध कडा कदम चालेको छ। कार्यालयले कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न सडक खण्डमा काम नगर्ने १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्ने प्रक्रिया अगाडि बढाएको हो।

Advertisement

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कालिकोट, जुम्ला र मुगुमा सञ्चालित ती आयोजनाका ठेक्का अन्त्यका लागि १५ दिने म्याद दिएको छ। सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले समयमा काम सम्पन्न नगरेपछि यो प्रक्रिया सुरु गरिएको बताए।

ठेक्का तोडिन लागेका आयोजनाहरू आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म सम्झौता भएका हुन्। यसरी अलपत्र परेका रुग्ण ठेक्काहरूमा कालिकोटका १२, जुम्लाका ३ र मुगुको १ वटा सडक आयोजना रहेका छन्।

लिखित तथा मौखिक रूपमा पटक-पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम सक्न चासो नदेखाएको कार्यालयले जनाएको छ। ठेक्का लिएर काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न सार्वजनिक खरिद कानुनबमोजिम सम्झौता रद्द गर्न लागिएको कार्यालय प्रमुख श्रवणकुमार महतराले बताए।

यसका साथै उनीहरूको कार्यसम्पादन जमानत, धरौटी र पेस्की रकम जफत गरिने कार्यालय प्रमुख महतराले बताए। पेस्की रकमको १० प्रतिशत ब्याज र बाँकी काम पूरा गर्न लाग्ने थप खर्चसमेत सरकारी बाँकी सरह असुलउपर गरिनेछ।

यसअघि पनि कर्णाली राजमार्गकै १० वटा रुग्ण आयोजनाको ठेक्का तोडिसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री