अवैध चिकित्सक अभ्यास नियन्त्रण गर्न नयाँ कार्यविधि

नेपाल मेडिकल काउन्सिलले आधुनिक चिकित्साको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन ‘अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि २०८३’ जारी गरेको छ। काउन्सिलको बोर्ड बैठकबाट स्वीकृत यस नयाँ कार्यविधिले अनुमति बिना चिकित्सकका रूपमा काम गर्ने र भ्रम फैलाउने कार्यलाई कडा रूपमा नियन्त्रण गर्ने लक्ष्य राखेको छ।

Advertisement

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले समग्र चिकित्सा क्षेत्रको प्रभावकारी नियमनका लागि यो कदम चालिएको स्पष्ट पारे। चिकित्सकहरूले समेत आफ्नो व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा कारबाहीको भागीदार हुनुपर्ने र यसले चिकित्सा क्षेत्रलाई थप बलियो बनाउने उनले बताए।

नयाँ कार्यविधिले मेडिकल काउन्सिल वा अन्य सम्बन्धित स्वास्थ्य परिषद्मा दर्ता नभई वा दर्ता भएर पनि तोकिएको कार्यक्षेत्र बाहिर गई गरिने उपचारलाई अवैध मानेको छ। गैरस्वास्थ्यकर्मीहरूले आफ्नो नामको अगाडि ‘डाक्टर’ उपाधि लेख्न नपाउने र गैरचिकित्सकले कानुनले तोकेको आफ्नै कार्यक्षेत्र भित्र रहेर मात्र अभ्यास गर्नुपर्ने व्यवस्था गरिएको छ।

आधिकारिक निकायबाट शैक्षिक योग्यता वा लाइसेन्स प्राप्त नगरी नामको अगाडि विभिन्न उपाधि झुन्ड्याएर भ्रम छर्ने कार्यलाई कार्यविधिले पूर्णतः निषेध गरेको छ। अवैज्ञानिक तथा अप्रमाणित रूपमा आधुनिक उपचार वा शल्यक्रिया गर्ने, स्वास्थ्य सम्बन्धी अतिरञ्जित विज्ञापन गर्ने र नक्कली मेडिकल प्रमाणपत्र वा प्रेसक्रिप्सन जारी गर्ने कार्यलाई समेत अवैध अभ्यासको दायरामा समेटिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री