
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि उद्धार सामग्री हस्तान्तरण गरेको छ।
हलचोकस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरको उपस्थितिमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त सामग्री हस्तान्तरण गरे।
कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीका साथै कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई र बालाजु शाखा प्रमुख मदन खतिवडाको उपस्थिति थियो।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सहयोग स्वरूप प्राप्त सामग्रीले विपद् उद्धार टोलीको कार्यक्षमता बढाउने र कठिन परिस्थितिमा जनताको ज्यान जोगाउन मद्दत पुग्ने बताए। यस्तो सहयोग प्रदान गरेकोमा उनले कम्पनीलाई धन्यवाद समेत दिए।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भूमिकामा रहँदै आएको सुरक्षा निकाय भएको बताए। बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित रहेकाले विपद्पछिको मात्र नभई पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्न र आपतकालीन जोखिम व्यवस्थापनमा योगदान पुर्याउन सामग्री उपलब्ध गराएको फुयालले स्पष्ट पारे।
सन नेपाल लाइफले हाल १५० शाखा तथा उप शाखा कार्यालयहरूबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ। शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।









प्रतिक्रिया