साउथगेटको रणनीति पछ्याउँदै पेनाल्टी सुटआउटको तयारीमा इङ्गल्याण्ड, कंगोसँग भिड्दै

इङ्गल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले विश्वकपको नकआउट चरणमा आफ्नो टोलीले ग्यारेथ साउथगेटको पेनाल्टी सुटआउट रणनीतिको खाकालाई नै निरन्तरता दिने बताएका छन्। बुधबार हुने पहिलो नकआउट खेलमा इङ्गल्याण्डले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को सामना गर्दैछ, जसमा खेल पेनाल्टी सुटआउटसम्म पुग्न सक्ने सम्भावना बलियो छ।

Advertisement

साउथगेटको त्यो सफल रणनीति

सन् २०१६ मा साउथगेट इङ्गल्याण्डको प्रशिक्षक नियुक्त हुनुअघि टोलीको पेनाल्टी रेकर्ड निकै खराब थियो—सातमध्ये केवल एक सुटआउट मात्र टोलीले जितेको थियो। तर साउथगेटले पेनाल्टी तयारीलाई नयाँ उचाइमा पुर्‍याएपछि इङ्गल्याण्डले चारमध्ये तीन सुटआउटमा जित हासिल गर्‍यो।

साउथगेटको योजना अनुसार पेनाल्टीलाई चिठ्ठाका रूपमा नलगी स्पष्टता र अभ्यासलाई जोड दिइन्थ्यो। खेलाडीहरूले नियमित अभ्यास गर्थे र प्रशिक्षकले पहिले नै पेनाल्टी प्रहार गर्नेहरूको सूची तय गर्थे। खेलाडीको दबाब कम गर्न प्रत्येक पेनाल्टी प्रहार गर्नेका लागि एक जना सहयोगी/ साथीको व्यवस्था गरिएको हुन्थ्यो, जसले पेनाल्टी प्रहार गरेर फर्किएका खेलाडीलाई आधा मैदानमै पुगेर स्वागत गर्थे। यसका साथै गोलकिपर जोर्डन पिकफोर्डको पानीको बोतलमा विपक्षी खेलाडीको पेनाल्टी शैलीबारे विस्तृत अनुसन्धानका टिपोटहरू लेखिएका हुन्थे।

प्रक्रियालाई निरन्तरता दिने टुचेलको भनाइ

प्रशिक्षक टुचेलले फुटबल एसोसिएसन (FA) को वर्षौँदेखिको स्थापित प्रक्रियालाई नै आफूहरूले पछ्याउने पुष्टि गरेका छन्। उनले टोली पूर्ण रूपमा तयार रहेको र खेलाडीहरूलाई आफ्नो भूमिका र क्रम थाहा भएको बताएका छन्। यद्यपि, मैदानको वास्तविक दबाबलाई अभ्यासमा उतार्न कठिन हुने भन्दै उनले थिएरी हेनरीको उदाहरण दिए, जसले फ्रान्सका लागि पहिलो पेनाल्टी प्रहार गर्न जाँदाको हिँडाइ आफूलाई सम्झना समेत नभएको बताएका थिए। खेलमा राइट–ब्याकहरू क्वान्सा र जेम्स भने कंगोविरुद्धको खेलमा उपलब्ध हुनेछैनन्।

टुचेलले कंगोविरुद्धको खेलमा टोलीबाट जादुमयी वा ‘ग्लामरस’ प्रदर्शनको अपेक्षा नगर्न समर्थकहरूलाई आग्रह गरेका छन्। समूह ‘एल’ मा क्रोएसिया र पानामालाई हराएको तथा घानासँग बराबरी खेलेको इङ्गल्याण्डले समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको ।

कंगो समूह ‘के’ को तेस्रो स्थानमा रहँदै अन्तिम ३२ मा आइपुगेको टोली हो। टुचेलले कंगोको खेल शैली पानामा र घानासँग मिल्दोजुल्दो रहेको भन्दै अहिले चमक देखाउने नभई जसरी पनि खेल जितेर अर्को चरणमा पुग्ने समय भएको स्पष्ट पारेका छन्। आगामी दिनमा बलिया टोलीहरू सामना गर्दा इङ्गल्याण्डको उत्कृष्ट रूप देखिने उनको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री