
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारी साधनमा प्रयोग भइरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत छलफल भएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सोमबार ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस विषयमा संवाद गरेको हो।
छलफलका क्रममा उपत्यका ट्राफिक प्रहरी प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएको कालो सिसा भएका सवारी साधनहरू विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएको बताए। उनले सवारी व्यवस्थापन ऐन २०४९ मा भएको व्यवस्था अनुसार सवारी साधनहरूबाट कालो सिसा हटाउन लागिएको जानकारी दिए।
सवारी साधन प्रयोगकर्ताहरूले न्यूनतम रूपमा सवारीको अगाडिको सिसामा कालो सिसा लगायत कुनै पनि प्रकारको स्टिकर टाँस्न नपाउने व्यवस्था रहेको प्रमुख काफ्लेले स्पष्ट पारे। उनले सवारी साधन पैठारीकर्ताहरूलाई आफ्ना खरिदकर्ताहरूलाई यस विषयमा पूर्वजानकारी दिन आग्रह गरे।
कालो सिसा प्रयोग गर्न चाहने सवारी साधन प्रयोगकर्ताले सरकारको अनिवार्य अनुमति लिनुपर्ने जानकारी दिँदै उनले पैठारीकर्ताहरूले आफ्नो म्यानुफ्याक्चरिङ कम्पनीबाटै कालो सिसा भएका सवारी साधन आयात नगर्नसमेत आग्रह गरे।
छलफलमा नाडाका अध्यक्ष उप्रेतीले सवारी साधनहरूमा कालो स्टिकर (फिल्म) प्रयोग भइरहेको र त्यसलाई हटाउन प्राविधिक रूपमा खासै समस्या नरहेकाले सर्वप्रथम कालो स्टिकर हटाउने प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिए।
त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले दोस्रो चरणमा अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनीबाटै कालो सिसा जडान भई आएका सवारी साधनको हकमा कुरा राखे। उनले त्यस्ता सवारी साधनको संख्या खासै धेरै नभएकाले यकिन गरेर हटाउन सकिने बताए।
यस सम्बन्धमा तत्काल छलफलका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरेको थियो। उक्त छलफलमा नाडाका तर्फबाट उपाध्यक्ष अभिक ज्योति लगायतको उपस्थिति थियो।









प्रतिक्रिया