कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक आईक्यानको गोल्ड अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय पारदर्शिता र संस्थागत सुशासनतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ ।

Advertisement

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले हरेक वर्ष प्रदान गर्ने ‘नेपाल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा बैंक उत्कृष्ट भएको हो ।

होटल याक एण्ड यतीमा मंगलबार आयोजित विशेष समारोहमा आईक्यानका अध्यक्ष निलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरे । यस पुरस्कारले बैंकको संस्थागत सुशासन र उत्तरदायी वित्तीय अभ्यासलाई थप बलियो बनाएको छ ।

बैंकले वित्तीय प्रतिवेदन प्रस्तुतिकरणमा लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले बीपीए अवार्ड २०२३ मा सिल्भर अवार्ड र २०२४ मा गोल्ड अवार्ड हात पारेको थियो ।

यस वर्ष पुनः गोल्ड अवार्ड पाएर बैंकले वित्तीय पारदर्शिता र गुणस्तरीय प्रतिवेदन प्रस्तुतिमा आफ्नो निरन्तर उत्कृष्टता पुष्टि गरेको छ । बैंकको वित्तीय विवरण दक्षिण एसियामै विशिष्ट मानिने ‘साफा अवार्ड’ बाट समेत लगातार सम्मानित हुँदै आएको छ ।

बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन र उत्तरदायित्वलाई उच्च प्राथमिकता दिएकाले यो सम्मान पाएको हो । सरोकारवालामुखी सूचना प्रस्तुतीकरणको उत्कृष्ट मूल्याङ्कन नै बैंकको सफलताको मुख्य आधार बनेको देखिन्छ ।

गोल्ड अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्छ । यो सम्मानले बैंकको वित्तीय विवरणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप थप विश्वसनीय र पारदर्शी बनाउन मद्दत पुग्नेछ ।

अवार्ड प्राप्त गरेपछि बैंकले आगामी दिनमा पनि उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।सरोकारवालाहरूलाई समयानुकूल, यथार्थपरक तथा गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउन यो ऊर्जा थपिएको बैंकले उल्लेख गर्यो ।

ग्राहक र लगानीकर्ताको विश्वास जित्दै आएको यस विकास बैंकले आगामी दिनमा आफ्नो सेवा र पारदर्शितालाई अझै सुदृढ बनाउने विश्वास दिलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री