एनआईसी एशिया बैंकद्वारा दुई विद्यालयलाई शैक्षिक र भौतिक सामग्री सहयोग

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई सहयोग गरेको छ । बैंकले डोटीको श्री सरस्वती आधारभूत विद्यालय र सिन्धुपाल्चोकको श्री जन जागृति माध्यमिक विद्यालयलाई विभिन्न सामग्री प्रदान गरेको हो ।

बैंकले डोटीको के.आई.सिंह गाउँपालिका–४ स्थित सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर उपलब्ध गराएको छ । यो विद्यालयले बाबुआमा नभएका सीमान्तकृत २१ जना विद्यार्थीहरूलाई खानेबस्नेसहित आवासीय सुविधा प्रदान गर्दै आएको छ ।

Advertisement

प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म ३६ भन्दा बढी विद्यार्थी अध्ययनरत सो विद्यालयमा सोमबार एक कार्यक्रम आयोजना गरियो । बैंकका दिपायल शाखा प्रमुख रमेश ओझाले विद्यालयका प्रधानाध्यापक पदम सिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरे ।

यस सहयोगले आवासीय रूपमा बसिरहेका र अन्य विद्यार्थीहरूलाई स्वच्छ खानेपानीको व्यवस्थापनमा थप सहजता पुग्ने विश्वास लिइएको छ । बैंकले सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै यस्ता विपन्न विद्यार्थी लक्षित सहयोगलाई निरन्तरता दिएको हो ।

त्यसैगरी बैंकले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई प्रविधि सामग्री दिएको छ । बैंकले विद्यालयलाई १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र १ थान प्रोजेक्टर प्रदान गरेको हो ।

कक्षा १२ सम्म सञ्चालित यस विद्यालयका झन्डै ४ सय ५० विद्यार्थीको प्रविधिमा पहुँच पुर्‍याउन यो सहयोग गरिएको हो । मंगलबार आयोजित कार्यक्रममा बैंकका इएसजी एण्ड सस्टेनेबल बैंकिङ्ग डिपार्टमेन्ट प्रमुख सोफी अधिकारी पौड्याल र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले सामग्री हस्तान्तरण गरे ।

उक्त सामग्रीहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र प्रसाद नेपाल र प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्त रूपमा हस्तान्तरण गरियो । यो सहयोगले विद्यार्थीहरूको डिजिटल सिकाइ र गुणस्तरीय शिक्षा प्राप्तिमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

बैंकले उपलब्ध गराएको यो सहयोगबाट विद्यार्थीहरूको दैनिक पठनपाठन अझ बढी आधुनिक र सहज बन्ने देखिन्छ । आगामी दिनमा पनि यस्ता विद्यालयहरूको प्रविधि पहुँच विस्तारमा सहयोग गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री