रोनाल्डोको कीर्तिमान तोड्ने बाटोमा अर्लिङ हालान्ड

ड्यालसको मैदानमा टाउकोमा भाइकिङ हेल्मेट लगाएर मुस्कुराइरहेका अर्लिङ हालान्ड जितको खुसी मनाउँदै थिए। नर्वेले आइभोरी कोस्टलाई २–१ ले हराएर विश्वकपको इतिहासमै पहिलो पटक नकआउट चरणमा जित दर्ता गरेको छ। कप्तान मार्टिन ओडेगार्डले ड्रम बजाएर नेतृत्व गरेको नर्वेली टोलीको चर्चित ‘भाइकिङ रो’ सेलिब्रेसनमा खेलाडी र समर्थकहरू सँगै झुमेका थिए।

Advertisement

यस ऐतिहासिक खेलमा हालान्डले नै नर्वेका लागि निर्णायक गोल गरे। प्याट्रिक बर्गको पासमा हालान्डले प्रहार गरेको बल आइभोरी कोस्टका गोलकिपर याया फोफानाले रोक्ने प्रयास गरे पनि गोललाइन पार भएको थियो। यो गोल उनको खेल जीवनकै सबैभन्दा उत्कृष्ट नभए पनि सबैभन्दा महत्त्वपूर्ण साबित भयो।

नर्वे यो विश्वकपमा अन्तिम १६ मा पुग्ने पहिलो युरोपेली टोली बनेको छ, जहाँ जर्मनी र नेदरल्यान्ड्स जस्ता ठूला टोलीहरू असफल भए। यस जितसँगै नर्वेले २८ वर्षअघि सन् १९९८ को विश्वकपमा कायम गरेको आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको बराबरी गरेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि नर्वेले ब्राजिलको सामना गर्नेछ, जुन खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

विश्वकपमा हालान्डको दमदार प्रदर्शन

यसअघि नर्वे ठूला प्रतियोगितामा छनोट हुन नसकेका कारण हलान्डले आफ्नो जीवनकालमा देशका लागि कुनै पनि मुख्य प्रतियोगिता खेल्न पाएका थिएनन्। तर सन् २०२६ को यस विश्वकपमा उनले ठूलो मञ्चमा आफ्नो क्षमता साबित गर्दै मात्र तीन खेलमा पाँच गोल गरिसकेका छन्। उत्तर अमेरिकामा जारी यस विश्वकपमा लियोनेल मेस्सीपछि उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।

इङ्गल्याण्डका पूर्व कप्तान वायन रुनीले हलान्डको प्रशंसा गर्दै भनेका छन्, “नर्वे एक उत्कृष्ट टोली हो र त्यो केवल हलान्डकै कारण सम्भव भएको हो। उनले आफू यो विश्वकपको स्तरका खेलाडी भएको प्रमाणित गरिसकेका छन्।”

हलान्डले नर्वेका लागि खेलेका पछिल्ला १३ प्रतिस्पर्धात्मक खेलहरूमा लगातार गोल गर्दै २५ गोल गरिसकेका छन्। उनले इटालीलाई ४–१ ले हराउँदा दुई गोल गर्दै टोलीलाई सन् २००० पछि पहिलो पटक मुख्य प्रतियोगिताको टिकट दिलाएका थिए। विश्वकपमा पनि उनले इराक र सेनेगलविरुद्ध दुई–दुई गोल गरेका थिए।

२५ वर्षीय हलान्डले नर्वेका लागि ५३ सिनियर अन्तर्राष्ट्रिय खेलमा ६० गोल गरिसकेका छन्, जसको अर्थ उनले प्रत्येक ७२ मिनेटमा एक गोल गरिरहेका छन्। हाल खेलिरहेका कुनै पनि पुरुष फुटबलरको गोल गर्ने औसत दर हलान्डको जति छैन।

अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सबैभन्दा बढी गोल गर्ने क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्दा हलान्डको गति निकै अगाडि देखिन्छ। रोनाल्डोले पोर्चुगलका लागि २३१ खेलमा १४५ गोल गरेका छन् (प्रति खेल ०.६२ गोल)। जबकि हलान्डको औसत प्रति खेल ०.८८ गोल रहेको छ। यदि यही गति कायम रहेमा हलान्डले आफ्नो १२८औँ अन्तर्राष्ट्रिय खेलमै रोनाल्डोको कीर्तिमान बराबरी गर्नेछन्।

नर्वेका मुख्य प्रशिक्षक स्टाले सोल्बाकेनले हलान्डको तारिफ गर्दै भने, “नर्वे जस्तो सानो देशका लागि विश्वकपका तीन खेलमा पाँच गोल गर्नु अद्भुत कुरा हो। म उनलाई संसारको कुनै पनि खेलाडीसँग साट्न तयार छैन। उनी आजको फुटबल विश्वकै सर्वश्रेष्ठ गोलकर्ता हुन्।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री