आईएमई लाइफले पायो आईक्यानको ब्रन्ज अवार्ड, वित्तीय सुशासनमा अब्बल प्रमाणित

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वित्तीय पारदर्शिता र संस्थागत सुशासनतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने ‘नेपाल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत कम्पनीले ब्रन्ज अवार्ड हात पारेको हो ।

काठमाडौंस्थित होटल याक एण्ड यतीमा मंगलबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले उक्त पुरस्कार संयुक्त रूपमा ग्रहण गरे ।

Advertisement

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रूपमा प्रस्तुत गरेको भन्दै यो सम्मान पाएको हो । नेपाल वित्तीय प्रतिवेदनका मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना गरेकाले कम्पनी मूल्याङ्कनमा अगाडि देखिएको हो ।

यो अवार्डले आईएमई लाइफले वित्तीय जवाफदेहिता र सुशासनलाई संस्थागतरुपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यास गरिरहेको पुष्टि गर्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले उक्त सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गर्वको विषय भएको बताए ।

यो सम्मानले वित्तीय पारदर्शिता र उत्कृष्ट कार्यसम्पादन थप मजबुत गर्ने जिम्मेवारी थपेको खड्काले उल्लेख गरे । उनले यो सफलता प्राप्त गर्न मार्गदर्शन दिने सञ्चालक समिति र विश्वास गर्ने बीमित ग्राहकप्रति आभार व्यक्त गरे ।

यसका साथै उनले अभिकर्ता, समर्पित कर्मचारी, शेयरधनी तथा नियामक निकायप्रति समेत धन्यवाद ज्ञापन गरे । कम्पनीले वित्तीय स्थायित्व र सुदृढ बजार स्थितिका आधारमा केयर रेटिङ नेपालबाट ‘ए माइनस’ क्रेडिट रेटिङ समेत पाएको छ ।

यो रेटिङले कम्पनी वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमतामा रहेको प्रमाणित गर्छ । हाल कम्पनीले नेपालका सबैजसो जिल्लामा फैलिएका १ सय ६० वटा शाखा तथा उपशाखाहरूबाट सेवा दिइरहेको छ ।

देशभर फैलिएका ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत कम्पनीले व्यवसाय विस्तार गरिरहेको छ । सुदृढ संस्थागत सुशासन र वित्तीय पारदर्शिता अपनाउँदै कम्पनी “भविष्य सुनिश्चित गर्दै” भन्ने मूल मन्त्रका साथ अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री