
कृषि, वन तथा पर्यावरण मन्त्रालयले मुख्य बाली धानको सिजनलाई लक्षित गर्दै आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत पुर्याउने उद्देश्यले मन्त्रालयले विभिन्न देशबाट सरकारी सम्झौता तथा ग्लोबल टेन्डरमार्फत मल आपूर्ति सुनिश्चित गर्न लागेको हो ।
मन्त्रालयका अनुसार भारतसँगको सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत ३० हजार मेट्रिक टन युरिया मल असार अन्तिमदेखि साउन दोस्रो साताभित्र नेपाल आइपुग्ने छ । यसका साथै भारतसँग भएको ८० हजार मेट्रिक टनको सम्झौतामध्ये पहिलो चरणको ५० हजार मेट्रिक टन मल पनि साउन दोस्रो साताभित्रै भित्रिने छ ।
अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिँदै छ, जसमा ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ ।
अन्तर्राष्ट्रिय बजारबाट आउने मलमध्ये ओमनमा लोडिङ भइरहेको ३० हजार मेट्रिक टन युरिया साउन दोस्रो साता नेपाल आइपुग्ने छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार होर्मुज पार गरिसकेको ३० हजार मेट्रिक टन डीएपी असार १९ देखि २० गतेभित्रै नेपाल आइपुग्ने छ भने अर्को ३० हजार मेट्रिक टन युरिया साउन अन्तिमसम्म आइपुग्ने गरी लोड भइसकेको छ ।
यसैगरी कतार, साउदी अरेबिया र भियतनामबाट आ–आफ्नो तर्फबाट ३०–३० हजार मेट्रिक टन मल लोड भई असार अन्तिम सातासम्म कलकत्ता बन्दरगाह आइपुग्ने र साउनभित्रै नेपाल भित्रिने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मल पाउन कठिन भए पनि मन्त्रालयले यो वर्ष हालसम्मकै सबैभन्दा बढी मल आयात गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा कुल ६ लाख मेट्रिक टन रासायनिक मल कृषकहरूलाई अनुदानमा उपलब्ध गराइने छ । मल वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणालीमा विवरण अद्यावधिक गर्न अनिवार्य गरिएको छ ।
स्थानीय स्तरमा हुन सक्ने कालोबजारी वा अनियमितता नियन्त्रण गर्न मन्त्रालयले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला रहने गरी हटलाइन नम्बर ९७०००९९११३ तथा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको छ ।









प्रतिक्रिया