
अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले विश्वकप इतिहासमा नयाँ फड्को मारेको छ। डलास स्टेडियममा भएको रोमान्चक खेलमा अस्ट्रेलियामाथि ४–२ को जित निकाल्दै इजिप्ट पहिलो पटक प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। सुटआउटमा इजिप्टका कप्तान मोहम्मद सलाहसहित सबै प्रमुख खेलाडीले कुनै गल्ती गरेनन्।
अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनको प्रहार असफल भएपछि इजिप्टले खेल आफ्नो पक्षमा पार्यो। इजिप्टका लागि होसाम अब्देलमाजिदले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गरे।
त्यसअघि खेलको १३औँ मिनेटमा करिम हाफेजको क्रसमा इमाम आशौरले शक्तिशाली हेडमार्फत गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाए। जारी प्रतियोगितामा आशौरको यो दोस्रो गोल हो।

पहिलो हाफमा एक गोलले पछाडि परेको अस्ट्रेलियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। खेलको ५५औँ मिनेटमा एडेन ओ’निलको फ्रिकिक क्लियर गर्ने प्रयासमा इजिप्टका डिफेन्डर मोहम्मद हानीले आत्मघाती गोल गरे।
यससँगै खेल १–१ को बराबरीमा पुग्यो। त्यसपछि दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।
अतिरिक्त समयको अन्तिमतिर मोहम्मद सलाहको उत्कृष्ट क्रसमा रामी राबियाले प्रहार गरेको हेडरलाई अस्ट्रेलियाली गोलकिपर प्याट्रिक बीचले शानदार बचाउ गरे। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो जहाँ इजिप्टले बाजी मार्यो।
विश्वकपको नकआउट चरणमा पहिलो ऐतिहासिक जित दर्ता गरेको इजिप्टले अब अर्को चरणमा साविक विजेता अर्जेन्टिना वा केप भर्डेमध्ये एकसँग जुलाई ७ मा खेल्नेछ।









प्रतिक्रिया