प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

 निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका बहालवाला रजिस्टार मानबहादुर कार्की सिफारिस भएका छन्।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले आयोगको रिक्त दुई आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम समेत सिफारिस गरेको छ।

परिषद् सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी कर्णका अनुसार काठमाडौँका डा. सुब्बालाई रिक्त आयुक्त र ओखलढुङ्गाका वाग्लेलाई यही असार २३ गतेदेखि रिक्त हुने आयुक्त पदका लागि सिफारिस गरिएको हो। आयुक्तमा प्रस्तावित डा. सुब्बा नेपाल प्रहरीका अवकाशप्राप्त प्राविधिक डिआईजी हुन् भने वाग्ले अवकाशप्राप्त सहमहान्यायाधिवक्ता हुन्।

प्रहरी सेवामा रहँदा आफूभन्दा कनिष्ठ एआईजीलाई आईजी बनाएपछि असन्तुष्ट बनेका डा. सुब्बाले २०७६ सालमै पदबाट राजीनामा दिएका थिए। विभिन्न संवैधानिक निकायका रिक्त पदहरूमा योग्य व्यक्तिहरूको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था अनुरूप परिषद्ले यी निर्णयहरू गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री