केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा

फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को प्रतिस्पर्धामा  अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।

Advertisement

केप भर्डेविरुद्धको निकै संघर्षपूर्ण खेलमा ३–२ को कठिन जित निकाल्दै अर्जेन्टिनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो।

मियामी स्टेडियममा निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको २९औं मिनेटमा लिसान्ड्रो मार्टिनेजको पासमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाए।

पहिलो हाफमा पछि परेको केप भर्डेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई खेलमा फर्काए।

अतिरिक्त समयको सुरुवाती दोस्रो मिनेटमै मार्टिनेजले गोल गरेर अर्जेन्टिनालाई फेरि २–१ को स्थितिमा पुर्‍याए। तर १०३औं मिनेटमा सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई दोस्रोपटक बराबरीमा ल्याए।

लगातार खेलमा फर्किएको केप भर्डे अन्ततः आफ्नै गल्तीका कारण प्रतियोगिताबाट बाहिरिन पुग्यो। १११औं मिनेटमा मेसीको क्रस बललाई बचाउने क्रममा केप भर्डेका डिफेन्डर डाइनी बोर्जेसले आत्मघाती गोल गरे।

सोही आत्मघाती गोल नै खेलको निर्णायक मोड बन्यो र अर्जेन्टिनाले अघिल्लो चरणको यात्रा तय गर्‍यो। हारका बावजुद केप भर्डेले साविक विजेता टोलीविरुद्ध उत्कृष्ट र साहसी प्रदर्शन प्रदर्शन गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री