विश्वकपको पहिलो चरणबाटै बाहिरियो दक्षिण कोरिया, राष्ट्रपति लीको असन्तुष्ट

फिफा विश्वकप २०२६ को पहिलो चरणबाटै बाहिरिएपछि दक्षिण कोरियाली फुटबलमा संकट चुलिएको छ। प्रतियोगितामा लज्जास्पद प्रदर्शनपछि मुख्य प्रशिक्षक होङ म्युङ-बोले आइतबार पदबाट राजीनामा दिएका छन्।

टोलीका प्रशिक्षकले राजीनामा दिए पनि फुटबल नेतृत्व तहमा व्यापक सुधारको माग भने मत्थर भएको छैन। सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको दक्षिण कोरिया यसपटक अन्तिम ३२ मा पुग्न असफल रह्यो।

Advertisement

उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त गर्ने टोलीमध्ये पर्नुपर्ने अवस्थामा दक्षिण कोरिया अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १-० ले पराजित भयो। आफूभन्दा तल्लो वरीयताको टोलीसँग पराजित भएपछि दक्षिण कोरिया प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो।

यस निराशाजनक प्रदर्शनपछि टोलीका कप्तान सोन ह्युङ-मिनको अन्तर्राष्ट्रिय भविष्यबारे पनि अन्योल बढेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङले टोलीको असफलताप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै अयोग्य व्यक्तिहरूलाई दोष दिए।

राष्ट्रपति लीले राष्ट्रसँग माफीसमेत मागेका छन्। राष्ट्रपतिको यो अभिव्यक्तिले फुटबल प्रशासनप्रति लामो समयदेखि बढ्दै आएको जनअसन्तुष्टि झल्काएको छ।

पूर्व कप्तान पार्क जी-सुङले यो नतिजा वर्षौँअघि नै अनुमान गर्न सकिने अवस्था रहेको बताए। विश्वकपको तयारी र कोरियाली फुटबलको विकासका लागि सिकेका पाठहरू पुनः बिर्सिएको उनको भनाइ छ।

दक्षिण कोरिया रहेको समूह ‘ए’ मा सह-आयोजक मेक्सिको, दक्षिण अफ्रिका र चेक रिपब्लिक थिए। टोलीले पहिलो खेलमा चेकलाई २-१ ले हराए पनि त्यसपछिका दुवै खेलमा हार बेहोर्यो।

स्थानीय सञ्चारमाध्यमका अनुसार टोली मंगलबार स्वदेश फर्किने भए पनि फुटबल संघले स्वागत कार्यक्रम आयोजना नगर्ने भएको छ। सन् २०१४ को विश्वकपमा पनि समूह चरणबाटै बाहिरिएर फर्किंदा आक्रोशित समर्थकहरूले टोलीमाथि मिठाई फ्याँकेर अपमान गरेका थिए।

जर्मन प्रशिक्षक युर्गेन क्लिन्समानलाई हटाइएपछि जुलाई २०२४ मा पुनः प्रशिक्षक नियुक्त भएका होङ म्युङ-बो सुरुदेखि नै विवादमा थिए। उनको नियुक्ति प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठेपछि कोरिया फुटबल संघ पनि विवादमा परेको थियो।

विश्वकपमा उनले दक्षिण अफ्रिकाविरुद्धको निर्णायक खेलमा स्टार खेलाडी सोन ह्युङ-मिनलाई सुरुआती टोलीमा नराखेपछि आलोचना झन् बढेको थियो। उक्त खेलमा दक्षिण कोरियालाई नकआउट चरणमा पुग्न बराबरी मात्र पर्याप्त भए पनि टोली पराजित भयो।

हारपछि होङले आफूलाई के गल्ती भयो भन्ने बुझ्न कठिन भइरहेको बताए। सन् २००२ को विश्वकप टोलीका सदस्य ली चुन-सुले अर्को खेलको नतिजाको आशामा उज्बेकिस्तानको समर्थन गर्नुपरेको अवस्थाप्रति निराशा व्यक्त गरे।

लीले आफ्नो युट्युब च्यानलमार्फत यो परिवर्तनको सन्देश भएको भन्दै सबै जना पद छोड्न तयार हुनुपर्ने बताए। दक्षिण कोरियाली समर्थकहरूको आक्रोशको ठूलो हिस्सा फुटबल संघका अध्यक्ष चुङ मङ-ग्युतर्फ केन्द्रित भएको छ।

१३ वर्षदेखि नेतृत्वमा रहेका चुङले विश्वकपअघि नै प्रतियोगितापछि पद छोड्ने घोषणा गर्दै आफूमा नैतिक नेतृत्वको अभाव रहेको स्वीकार गरेका थिए। ६५ वर्षीय चुङ चौथो कार्यकालमा अध्यक्ष छन् र उनी म्याच फिक्सिङमा संलग्न पूर्व खेलाडीहरूलाई माफी दिन खोजेको विषयमा पनि विवादमा परेका थिए।

प्रशिक्षक होङ र अध्यक्ष चुङपछि टोलीका कप्तान सन ह्युङ–मिनले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सम्भावना रहेको चर्चा छ। आगामी महिना ३४ वर्ष पुग्न लागेका सनले यसअघि नै राष्ट्रिय टोलीबाट बिदा लिन सक्ने संकेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री