
सामाजिक सञ्जालमार्फत ठगी गरी अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भक्तपुर मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।
पक्राउ परेका प्रजापतिले मानिसहरूलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई पूर्ण रूपमा गैरकानूनी मानिन्छ।
प्रजापतिले हालसम्म १ करोड ४८ लाख ७६ हजार ५ सय २७ रुपैयाँ ४६ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
पक्राउ परेका व्यक्तिको विभिन्न डिजिटल खाताहरूमा ७ हजार ४ सय ८५ अमेरिकी डलर मौज्दात रहेको फेला परेको छ। उक्त डलर नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब ११ लाख ४१ हजार ९ सय ८३ रुपैयाँ हुन आउँछ।
अवैध डिजिटल मुद्रा कारोबारमा संलग्न प्रजापतिमाथि थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले उनको बैंक खाता र डिजिटल वालेटहरूको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।
यस नेटवर्कमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रवक्ता भट्टराईले बताए। प्रहरीले सर्वसाधारणलाई सामाजिक सञ्जालमा आउने अस्वभाविक आर्थिक प्रलोभनमा नपर्न र अवैध डिजिटल मुद्राको कारोबार नगर्न आग्रह गरेको छ।









प्रतिक्रिया