
सरकारले कम्पनीको सेयर खरिद गर्दा कारोबार मूल्यको एक प्रतिशत शुल्क उठाउने नयाँ कानुनी प्रस्ताव अघि सारेको छ । निर्माणको क्रममा रहेको ‘कम्पनी ऐन २०८३’ को मस्यौदा अनुसार २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेयर किनबेच गर्दा खरिदकर्ताले अनिवार्य रूपमा सेयर हस्तान्तरण शुल्क बुझाउनुपर्नेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको मस्यौदाको दफा ८९ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा सेयर अभिलेख गर्दा यो शुल्क लाग्ने व्यवस्था गरिएको हो ।
विद्यमान कम्पनी ऐनमा कम्पनी दर्ता, पुँजी वृद्धि, नाम परिवर्तन र खारेजी गर्दा मात्रै निश्चित अंकका आधारमा शुल्क लिने व्यवस्था छ । तर, नयाँ मस्यौदाले धितोपत्र बजार (सेयर बजार) मार्फत हुने कारोबारमा समेत थप एक प्रतिशत शुल्क थोपर्ने प्रस्ताव गरेको छ । मस्यौदाको उपदफा २ अनुसार धितोपत्र व्यवसायीले यो शुल्क संकलन गरी संघीय संचित कोषमा जम्मा गर्नुपर्नेछ, जसले गर्दा दोस्रो बजारका लगानीकर्तामाथि थप भार पर्ने देखिन्छ ।
अधिवक्ता अनुप उप्रेतीले सेयर खरिद गर्दा हस्तान्तरण शुल्क लिने सरकारी प्रस्तावलाई प्रतिगामी कदमको संज्ञा दिएका छन् । कम्पनीको सेयर किन्नु भनेको लगानी गर्नु भएकाले लगानीमै कर लगाउने यस्तो व्यवस्था संसारभर कतै नभएको र यसको कुनै सैद्धान्तिक आधार नरहेको उनले बताए । सरकारको यो कदमले देशमा लगानीको वातावरण पूर्ण रूपमा विथोल्ने र लगानीकर्तालाई निरुत्साहित गर्ने उनको विश्लेषण छ ।
धितोपत्र बजारका लगानीकर्ताहरूले पनि सरकारको यो प्रस्तावप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । बजेटमार्फत पुँजीगत लाभकर बढाएको सरकारले फेरि कम्पनी ऐनमार्फत थप शुल्क प्रस्ताव गर्नुले सेयर बजारप्रति नकारात्मक दृष्टिकोण राखेको प्रष्ट हुने एक लगानीकर्ताले बताए । यो ऐन जस्ताको तस्तै पारित भएमा सेयर बजारको कारोबार व्यापक घट्ने र बजारमा नयाँ लगानी आउने बाटो बन्द हुने उनको भनाइ छ ।
हाल सेयर कारोबार गर्दा लगानीकर्ताले धितोपत्र बोर्ड, ब्रोकर र नेप्सेलाई विभिन्न शुल्क बुझाउँदै आएका छन् । नयाँ व्यवस्था लागू भएमा खरिदकर्ताले यी साविकका शुल्कका अतिरिक्त थप एक प्रतिशत भार बेहोर्नुपर्ने हुन्छ ।
नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले सरकारले प्रस्ताव गरेको यो प्रावधान धितोपत्र ऐनसँग बाझिने बताए । धितोपत्र ऐन र प्रस्तावित कम्पनी ऐनको सैद्धान्तिक संगती नै नमिल्ने उल्लेख गर्दै उनले यी व्यवस्थाहरुले दोस्रो बजारका लगानीकर्तालाई विक्षिप्त बनाउने दाबी गरे ।









प्रतिक्रिया