
काठमाडौँ उपत्यकासहित देशभरका एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले बर्डफ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन विशेष अपिल गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क हुने गरी कुनै पनि काम वा गतिविधि नगर्न आग्रह गरिएको छ। पशु सेवा विभागका अनुसार अहिलेसम्म मुलुकका ११ जिल्लाका एक सय स्थानमा यो सङ्क्रमण पुष्टि भइसकेको छ।
मन्त्रालयले पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान तथा मृत पन्छी देखिएमा तुरुन्त नजिकको पशु सेवा निकायमा जानकारी गराउन भनेको छ। पन्छीमा लाग्ने इन्फ्लुएन्जा भाइरसका कारण हुने यो रोग कहिलेकाहीँ सङ्क्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा सर्न सक्छ।
यो रोग व्यक्ति-व्यक्तिबीच भने सजिलै नसर्ने डा अधिकारीले बताए। सङ्क्रमित पन्छीलाई छुँदा, पन्छीको दिसा वा सिगानसँग सम्पर्क हुँदा, खोर सफा गर्दा र मरेको पन्छीको मासु खाँदा यो भाइरस मानिसमा सर्न सक्छ।
सङ्क्रमण भएमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने, वाकवाकी लाग्ने, वान्ता हुने वा पखाला लाग्ने जस्ता लक्षणहरू देखिन्छन्।










प्रतिक्रिया