
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण कार्य सकिएको छ। आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम्पूर्ण निर्माण शुक्रबारदेखि सम्पन्न भएको हो।
मुख्य सडकको कालोपत्रे र ढलान निर्माण सम्पन्न भइसकेकाले अब सडक सुरक्षा अन्तर्गतका काम मात्र बाँकी रहेको सूचना अधिकारी एवं इञ्जिनियर शिव खनाले जानकारी दिए। यो सँगै सडक आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ।
निर्माण सम्पन्न भइसकेका अधिकांश खण्डमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको १ सय १३ किलोमिटर लामो सडक दुई खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ।
गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब ४८ किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सन् २०१९ मा निर्माण सम्झौता भए पनि विभिन्न अवरोधका कारण आयोजना समयमै सम्पन्न हुन सकेको थिएन।
कोभिड–१९ महामारी, वन क्षेत्रको रूख कटानमा ढिलाइ र विद्युत् तथा खानेपानीका संरचना स्थानान्तरणले निर्माणमा ढिलाइ भएको थियो। नदीजन्य निर्माण सामग्रीको आपूर्ति समस्या तथा अन्य प्राविधिक कारणले पनि निर्धारित समयमा काम हुन नसकेको आयोजनाले जनाएको छ।
पछिल्ला महिनामा निर्माण कार्यले उल्लेखनीय गति लिएसँगै पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे सम्पन्न भएको हो। यसअघि अधिकांश पुल, कल्भर्ट, नाला, सेवा सडक र अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन्।
बाँकी रहेका सडक सुरक्षा तथा सौन्दर्यीकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको छ। देशकै अत्यधिक सवारी चाप हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको यो सडक विस्तार भएपछि नारायणघाट–बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा छ।
यसले गण्डकी, लुम्बिनी र बागमती प्रदेशबीचको आवागमन, व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। मुख्य सडक तयार भएसँगै यात्रुहरूले बर्षौँदेखि खेप्दै आएको सास्ती कम हुँदै गएको छ।









प्रतिक्रिया