
रमेश लम्साल
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै भौतिक निर्माण अगाडि बढेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताए। कुल १०६ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण र विद्युत् खरिद–बिक्री सम्झौता लगायतका काम यसअघि नै भइसकेका छन्।
परियोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको मुलुककै नमूना आयोजना हो। कम्पनीले डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्ध–जलाशययुक्त आयोजना विकास गरिरहेको छ। जगदुल्ला जलविद्युत् आयोजनाबाट १०६ मेगावाट र जगदुल्ला–‘ए’ आयोजनाबाट १२४ मेगावाट गरी कुल २३० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।
आयोजनाले विद्युत् उत्पादनबाहेक डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सापकोटाले बताए। कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण र सडकखण्डको कठिन भिरमा ‘ट्र्याक’ खोल्ने काम सम्पन्न गरिसकेको छ। पहुँच मार्गमा १० वटा ‘बेली ब्रिज’ जडान गरिएकाले स्थानीय बासिन्दालाई यातायातमा सहजता मिलेको छ।
केही वर्षअघिसम्म नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिन लाग्ने गरेकोमा अहिले एकै दिनमा यात्रा सम्भव भएको छ। सदरमुकाम दुनैबाट काठमाडौँसम्म रात्रिबस सञ्चालन हुन थालेपछि पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने देखिएको छ। यस पूर्वाधारले रारा ताल, शे–फोक्सुण्डो ताल र जगदुल्ला ताल जाने वैकल्पिक मार्गको विकास भई कर्णालीको पर्यटन विस्तार हुनेछ।
आयोजना निर्माणपश्चात् सङ्घीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख, प्रदेश सरकारले ९ करोड ५० लाख र स्थानीय तहले ९ करोड ५० लाख रोयल्टी प्राप्त गर्नेछन्। यसले स्थानीय अर्थतन्त्र सुदृढीकरणमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ। अर्को १२४ मेगावाट क्षमताको जगदुल्ला–ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन पनि सम्पन्न भइसकेको छ।
यो आयोजना सरकारी निकायको बहुमत ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने गरी निर्माण हुन लागेको हो। स्थानीय बासिन्दाका लागि १० प्रतिशत र प्रसारण लाइनको मार्गाधिकारभित्र पर्ने जग्गाधनीलाई तीन प्रतिशत शेयर दिने नयाँ मोडेल लागू गरिएको छ। आयोजनाका लागि नबिल बैङ्क, कर्मचारी सञ्चय कोष र एचआइडिसिएल लगायतका स्वदेशी संस्थाबाट १६ अर्ब ६६ करोड बराबरको ऋण लगानी जुटाइएको छ।









प्रतिक्रिया