
ललितपुरस्थित ऐतिहासिक जेष्ठ वर्ण महाविहारलाई प्रतिष्ठित २०२५ युनेस्को एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गतको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण गरिएको छ । महाविहार परिसरमा बिहिवार आयोजित विशेष समारोहमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले उक्त अवार्ड हस्तान्तरण गरे ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा अवार्डको धातुपट्टिका र प्रमाणपत्र महाविहार उपभोक्ता समितिलाई बुझाइएको हो ।

१७ औँ शताब्दीको यो ऐतिहासिक महाविहार २०७२ सालको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त भएको थियो । यसको संरक्षणमा स्थानीय समुदायलाई केन्द्रमा राखेर नेवारी काष्ठकला र पारम्परिक वास्तुकलाको मौलिकता जोगाइएको छ । प्राचीन स्वरूपलाई कायम राख्दै आधुनिक भूकम्पीय सुरक्षा प्रणाली अपनाएर गरिएको पुनर्निर्माणका लागि युनेस्कोले यो उच्च सम्मान प्रदान गरेको हो ।

भारत सरकारको १३ करोडभन्दा बढीको अनुदान
नेपालको साँस्कृतिक सम्पदा क्षेत्रमा भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजना सम्पन्न भएको हो । नेरु. १३.७८ करोड लागतमा अघि बढाइएको यस कार्यका लागि भारतको इन्ट्याकलाई प्राविधिक विशेषज्ञता उपलब्ध गराउने परामर्शदाता नियुक्त गरिएको थियो । इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग निकट समन्वय गरी पुनर्निर्माण कार्य अघि बढाएको थियो ।

पुनर्निर्माण अवधिभर नेवार बौद्ध समुदायको जीवन्त सम्पदा, दैनिक अनुष्ठान र सांस्कृतिक अभ्यासहरू बिनाकुनै अवरोध निरन्तर सञ्चालन हुने वातावरण मिलाइएको थियो । यसअघि २०८० चैत ९ गते नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र तत्कालीन शहरी विकास मन्त्री धनबहादुर बुढाले यस महाविहारको संयुक्त उद्घाटन गरेका थिए ।

८ जिल्लाका ३० सम्पदा पुनर्स्थापनामा भारतीय सहयोग
गोरखा भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पुर्याउन भारत सरकारले १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता जनाएको थियो ।सोही प्रतिबद्धता अनुसार भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा ठूलो सहयोग गरेको छ ।

हालसम्म भारतको सहयोगमा ५० हजार निजी आवास, ७० वटा विद्यालय, एक पुस्तकालय र १२२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । साँस्कृतिक सम्पदा क्षेत्र अन्तर्गत भारत सरकारले नेपालका ८ जिल्लाका ३० वटा परियोजनाहरूको संरक्षण तथा पुनर्स्थापनामा सहयोग गरिरहेको छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ र गोरखामा ऐतिहासिक स्थल तथा प्राचीन मन्दिरहरूको पुनर्निर्माण भइरहेका छन् । काठमाडौँको सेतो मच्छिन्द्रनाथ मन्दिर, ललितपुरको कुमारी घर र भक्तपुरको जंगम मठ जस्ता महत्त्वपूर्ण सम्पदाहरू यसै अन्तर्गत पुनर्निर्माण भइरहेका छन् ।

आपसी मित्रताको गौरवशाली प्रतीक
कार्यक्रममा बोल्दै भारतीय दूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेले जेष्ठ वर्ण महाविहार परियोजनाको सफलताले भारत र नेपालबीचको गहिरो साँस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई प्रष्ट पारेको बताए । साझा समृद्ध साँस्कृतिक पहिचानको संरक्षणमा नेपाल सरकार र नेपाली जनतासँग साझेदारी गर्न भारत सरकार निरन्तर प्रतिबद्ध रहेको कुरामा उनले जोड दिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महाविहारको संरक्षणमा भारत सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै यसले बलियो द्विपक्षीय विकास साझेदारीलाई प्रतिबिम्बित गरेको बताए । ललितपुरका अन्य विभिन्न साँस्कृतिक सम्पदा स्थलहरूको पुनर्स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा उनले भारत सरकारप्रति आभार व्यक्त गरे । महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि समयमै आर्थिक तथा प्राविधिक सहयोग पाएकोमा धन्यवाद दिँदै यो महाविहार समुदायको उत्थानशीलता र नेपाल-भारत मित्रताको गौरवशाली प्रतीकका रूपमा खडा रहने बताए ।



















प्रतिक्रिया