
ईश्वरी भुजेल हत्या प्रकरणमा उनका छोरा जेनिश थापाले आफ्नै बुबा कुमार थापामगर (नेपाली ब्रो) र उनकी प्रेमिका प्रतीक्षा आचार्यविरुद्ध गम्भीर र सनसनीपूर्ण बयान दिएका छन्। बुबाले आमाको हत्या आवेगमा नभई योजनाबद्ध ढंगले र अरूको उक्साहटमा गरेको दाबी छोराको छ।
जेनिशका अनुसार उनका बुबा कुमार र प्रतीक्षाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र सोही विषयलाई लिएर घरमा सधैँ विवाद हुने गरेको थियो। ७-८ महिना पहिले बुबा र प्रतीक्षाबीच भएको टेलिफोन कुराकानी आफैँले सुनेको र त्यस क्रममा प्रतीक्षाले पहिले श्रीमतीलाई मारेपछि मात्र घर भित्रिने सर्त राखेको जेनिशले बताए। बुबाको फेसबुक मेसेन्जरमा प्रतीक्षासँग क्लब र डिस्कोमा गएका भिडियोहरू भेटेपछि आमालाई आफूले नै पठाइदिएको पनि उनले उल्लेख गरे।
जेनिशले आफ्ना काका विक्रम थापामगरले पनि बुबालाई हत्याका लागि उक्साएको आरोप लगाएका छन्। विक्रमले श्रीमतीलाई तह लगाउन नसकेको भन्दै बुबालाई गिज्याउने र हत्याका लागि पैसा खर्च गर्ने प्रलोभन दिने गरेको बयानमा उल्लेख छ। मृतक ईश्वरीले कुमारविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेपछि धरौटीमा छुटेका कुमारले यसअघि पनि परिवारलाई मार्ने प्रयास गरेको खुलेको छ। मुद्दाबाट छुटेर आएको केही हप्तामै प्रतिवादीले कोठा बाहिर ग्यासको सिलिन्डर पड्काएर सबैलाई मार्न खोजेका थिए। त्यतिबेला नेपाली सेनामा कार्यरत दिदी अनु थापाको मध्यस्थता र माफीको अनुरोधपछि कतै उजुरी नगरिएको जेनिशले बताए।
सम्बन्ध विच्छेद र वैवाहिक करणीको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा जेठ २२ गते यो हत्याकाण्ड भएको हो। अदालतको पेशी सकेर फर्किएका कुमारले राति घरमा गइ साना छोरालाई माग्दै धम्की दिएपछि जेनिशले बुबालाई फोन गरेर प्रतिवाद गरेका थिए। सोही राति अफिसबाट स्कुटरमा घर फर्किँदै गरेकी ईश्वरीलाई तारकेश्वरको पैयुटारस्थित बाटोमा ढुकेर चक्कु प्रहार गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेकी ईश्वरीलाई सडकमा रगताम्य अवस्थामा भेटेर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। कुमारले दुई दिन अगाडि नै घरको सीसी क्यामेराको तार चुँडालेको र घटनाको भिडियो फुटेजमा कारबाट झरेर आमालाई पछ्याउँदै चक्कु प्रहार गरेको प्रष्ट देखिएको जेनिशले बयानमा उल्लेख गरे। यस कार्यमा धनेश्वर अटो मोबाइल्सका पूजन थापा क्षेत्री र झाँक्री प्रकाश भुजेलको भूमिकामाथि पनि शंका गर्दै कानुनी कारबाहीको माग गरिएको छ।










प्रतिक्रिया