ककपिटमा धुवाँ देखिएपछि धनगढीतर्फ उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको जहाज ककपिटमा धुवाँ देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार दिउँसो करिब ४ बजे उडान भरेको उडान नम्बर SHA २२७ को जहाजमा उक्त समस्या देखिएको हो।

उडानका क्रममा ककपिटमा धुवाँ देखिन थालेपछि चालक दलले तत्काल सुरक्षा सतर्कता अपनाउँदै भैरहवामा विमान ओरालेका थिए। विमानस्थल स्रोतका अनुसार जहाज सुरक्षित रूपमा अवतरण भएको छ भने सवार सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सकुशल रहेका छन्।

आपतकालीन अवतरणपछि प्राविधिक टोलीले जहाजको विस्तृत परीक्षण सुरु गरिसकेको छ। ककपिटमा धुवाँ देखिनुको मुख्य कारण के हो भन्नेबारे अहिले अनुसन्धान भइरहेको विमानस्थलले जनाएको छ।

यसैबीच, भैरहवामा अलपत्र परेका यात्रुहरूलाई धनगढी पुर्‍याउनका लागि काठमाडौंबाट श्री एयरलाइन्सको अर्को जहाज परिचालन गरिएको छ। काठमाडौंबाट उडेको उक्त दोस्रो जहाजले भैरहवाबाट यात्रुहरूलाई लिएर धनगढी प्रस्थान गर्ने विमानस्थलका जेनेरल म्यानेजर श्यामकिशोर शाहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री