८.७८ अंकले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको छ।

Advertisement

सेन्सेटिभ इण्डेक्स पनि ३.८९ अंक बढेको छ। यसैगरी फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३९ अंक बढेको छ।

बजारमा सूचीकृत १३ उपसमूहमध्ये बिहीबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। समग्र बजारलाई बढाउन बैंकिङ्ग उपसमूहको भूमिका मुख्य रह्यो, जसको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ।

बैंकिङ्गसँगै वित्त, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। अन्य ८ उपसमूहको परिसूचकमा भने गिरावट आएको छ।

नेप्से परिसूचकसँगै बिहीबार कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार कारोबार रकम ४ अर्ब नाघेको छ।

बजारमा ३ सय ५९ स्टकको ४३ हजार १ सय ३१ पटकको कारोबारमा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँबराबरको ८९ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबारको बजारमा ४ वटा स्टकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य भने सर्वाधिक १०.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहन सफल भएको छ। सो बैंकको बिहीबार ४१ करोड ३२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को साढे ४० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम पनि २५ करोड रुपैयाँ नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री