टिकटकको ‘डाक्टर गर्लफ्रेन्ड’ भिडियोदेखि कुलेखानीको त्यो रातसम्म: ‘नेपाली ब्रो’की प्रेमिका प्रतिक्षाको बयान जस्ताको तस्तै

श्रीमती ईश्वरी भुजेलको हत्या अभियोगमा पक्राउ परेका कुमार थापामगर उर्फ ‘नेपाली ब्रो’की प्रेमिका प्रतिक्षा आचार्यले आफूहरूको प्रेम सम्बन्धकै कारण हत्याको परिस्थिति सिर्जना भएको स्वीकार गरेकी छन्. । तर, हत्याको योजना र घटनामा आफ्नो कुनै संलग्नता नरहेको उनले दाबी गरेकी छन् ।

अदालतमा दर्ता गरिएको अभियोगपत्रमा नर्सिङकी विद्यार्थी रहेकी प्रतिक्षामाथि हत्या दुरुत्साहनको आरोप लगाउँदै सजायको माग गरिएको छ । अभियोगपत्रमा समावेश बयानमा उनले कुमार विवाहित भएको र उनकी श्रीमती सेनामा कार्यरत रहेको थाहा पाउँदापाउँदै पनि आफूहरू प्रेम र शारीरिक सम्बन्धमा रहेको स्वीकार गरेकी छन् ।

Advertisement

टिकटकबाट सुरु भएको त्यो सम्बन्ध

जुम्ला घर भई हाल काठमाडौँको बौद्ध बस्ने प्रतिक्षाका अनुसार करिब दुई वर्षअघि सामाजिक सञ्जाल टिकटक सञ्जालमार्फत उनको कुमारसँग चिनजान भएको थियो । कुमारले उनलाई ‘डाक्टर गर्लफ्रेन्ड’ भन्दै टिकटकमा भिडियो हालेपछि उनीहरू भाइरल बनेका थिए र त्यहीँबाट उनीहरूको प्रेम झाँगिएको थियो ।

यो सम्बन्धका कारण कुमारको परिवारमा निरन्तर कलह सुरु भयो र प्रहरी वृत्त बालाजुमा पटक-पटक छलफलसमेत भयो । ईश्वरीले कुमारविरुद्ध वैवाहिक जबरजस्ती करणीको मुद्दा हालेपछि कुमार ५० हजार धरौटीमा छुटेका थिए भने उनीहरूबीच सम्बन्धविच्छेदको मुद्दासमेत चलिरहेको थियो ।

सम्बन्ध तोड्ने प्रयास र हत्याको खबर

विवाद बढ्दै गएपछि प्रतिक्षाले कुमारसँग सम्बन्ध तोडेर विदेश जाने सोच बनाएकी थिइन् र एक महिनादेखि उनीहरूबीच भेटघाट भएको थिएन । गएको २०८३ जेठ २२ गते उनी साथीहरूसँग कुलेखानी घुम्न गएका बेला कुमारले श्रीमती ईश्वरीको घाँटी रेटी हत्या गरेको खबर पाएकी थिइन् ।

घटनाको भोलिपल्टै प्रहरीले पक्राउ गरेकी प्रतिक्षाले बयानमा भनेकी छन् । “म र कुमारबीचको प्रेम सम्बन्धका कारण निजले आफ्नी श्रीमतीलाई मार्ने परिस्थिति सिर्जना भएको हो. म योजना बनाउने कार्यमा संलग्न छैन, तर कानुनबमोजिमको सजाय भोग्न तयार छु ।”

प्रतिक्षा आचार्यको बयानको पूर्णपाठः

म प्रतिक्षा आचार्य सानैदेखि घर जुम्लाबाट काठमाडौं आई जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ८ बौद्ध मेडिकल कलेजचोकस्थित घरमा स-परिवार बस्दै आइरहेकी छु । आजभन्दा करिब दुई वर्ष पहिले यसै मुद्धामा थुनामा रहेको प्रतिवादी नेपाली ब्रो भन्ने कुमार थापामगरसँग सामाजिक संजाल टिकटक मार्फत चिनजान भएको थियो । निज प्रतिवादी कुमार थापामगर नेपाल ब्रो नामले टिकटकमा भाइरल थिए। चिनजानपश्चात निज प्रतिवादीसंग टेलिफोन नम्बरसमेत आदान प्रदान भई कुराकानी हुनुका साथै हामी बेला बेलामा भेटघाट, उठबस गर्न थाल्यौं ।
यसैक्रममा निज प्रतिवादीले मलाई टिकटक बनाउन प्रस्ताव गरेपछिनिज भाइरल मान्छे भएका कारण मैले पनि हुन्छ भनि निजसँग टिकटक बनाएकी थिए । मैले पीसीएल नर्सिङ अध्ययन गरेकाले निज प्रतिवादी कुमार थापामगरले मेरो र निजको टिकटमा मेरो ‘डक्टर गलफ्रेण्ड’ भनि भिडियो पोष्ट गरे ।

सो भिडियो सामाजिक सञ्जालमा पोष्ट भई सकेपछि निज प्रतिवादीकी श्रीमती मृतक ईश्वरी भुजेलले थाहा पाइन् । हामीले बनाएको उल्लेखित टिकटक भाइरल भएपछि सबैलाई जानकारी भयो । यसरी प्रतिवादी कुमार थापामगर र मबीच पटक-पटक भेटघाट तथा कुराकानी हुँदै गर्दा हामीबीच मायाप्रेम बस्यो । निज प्रतिवादी कुमार थामागरको घरमा श्रीमती ईश्वरी भुजेल रहेकी र निज नेपाली सेनामा कार्यरत भएको समेत थाहा पाएकी थिएँ । मायाप्रेम बसिसकेपछि प्रतिवादी कुमार थापामगर र म बेला-बेलामा होटल रेष्टुरेण्टहरुमा बस्नुका साथै शारीरिकसम्पर्क समेत राख्ने गरेका थियौं ।

म र प्रतिवादी कुमार थापामगरबीच प्रेमसम्बन्ध रहेको कुरा थाहा पाइसकेपछि आजभन्दा करिब १ बर्ष पहिले निज ईश्वरी भुजेलले प्रहरी बृत्त बालाजुमा उजुरी दिएकोमा हामीलाई झिकाई सम्झाई बुझाई गरिएको थियो । तर त्यसपछि पुनः म र प्रतिवादी कुमार थापामगर बीच भेटघाट, कुराकानी हुन थालेपछि प्रतिवादी कुमार थापामगरले मलाई निजको नुवाकोटस्थित घरमा लगेर राखेकोमा करिब दुई दिनजति बसिसकेपछि ईश्वरी भुजेलले सो कुरा थाहा पाई प्रहरी बृत्त बालाजुमा उजुरी दिएकोमा म समेतलाई झिकाई सम्झाई बुझाई कागज गरी छाडिएको थियो ।

त्यसको केही दिनपछि २०८२ साल साउन महिनातिर मृतक ईश्वरी भुजेलले प्रतिवादी कुमार थापामगरको नाममा प्रहरी बृत्त बालाजुमा बैबाहिक करणी सम्बन्धि कसुर मुद्धा दिएपछि निज प्रतिवादी पक्राउ परी सम्मानित जिल्ला अदालत काठमाडौंको आदेशले रु ५० हजार धरौटीमा छुटि सो मुद्धा हाल विचाराधीन अवस्थामा छ । यसरी म र प्रतिवादी कुमार थापामगर बिचको प्रेम सम्बन्ध साथै निज प्रतिवादी कुमार थापामगरले टिकटकमा अन्य केटीहरुसँगका पनि फोटो भिडियोहरु पोष्ट गर्न थालेपछि मृतक ईश्वरी भुजेल र प्रतिवादी कुमार थापामगरबीच पारिवारिक वादविवाद, कलह हुने गरेको कुरा मैले पनि जानकारी पाएकी थिएँ ।

प्रतिवादी कुमार थापामगर र मृतक ईश्वरी भुजेल बीच सम्मानित काठमाडौं जिल्ला अदालतमा सम्बन्धबिच्छेद मुद्दा चलिरहेको कुरा पनि मलाई थाहा थियो । एकातिर म र प्रतिवादी कुमार थापामगरबीच भएको प्रेम सम्बन्ध बारेमा सर्वत्र चर्चा भई सकेको थियो भने अर्कातर्फ प्रतिवादी कुमार थापामगरको पारिवारीक कलह, अदालतमा विचाराधिन बैबाहिक जबरजस्ती करणी मुद्धा र सम्बन्धबिच्छेद मुद्दा समेत टुंगो नलागेपछि मैले निज प्रतिवादी कुमार थापामगरसँग अब कुनै सम्बन्ध नराख्ने र विदेशतिर जाने सोच बनाई करिब १ महिनादेखि निज कुमार थापामगरलाई भेटेकी थिइनँ ।

फोनमा भने कुराकानी भई रहन्थ्यो । अब देखि हामी आ-आफ्नो बाटो तिर लागौ, अबदेखि कुनै पनि सम्बन्ध नराख्ने आसयमा कुराकानी हुने गरेकोमा मिति २०८३।०२।२२ गतेका दिन म, मेरो साथीहरु रिया तामाङ, गम्भिर श्रेष्ठ, एक जना गम्भिर श्रेष्ठको चिनजानको केटा साथी चारजना भई कुलेखानीतर्फ घुम्न भनि गएका थियौं । सोही राती सामाजिक संजालमार्फत प्रतिवादी कुमार थापामगरले आफ्नी श्रीमती ईश्वरी भुजेलको घाँटी रेटी मारेको भन्ने हो-हल्ला सुनेपछि हामी राती नै काठमाडौं फर्कियौं ।

भोली पल्ट २३ गतेका दिन अनुसन्धानको क्रममा पक्राउ परेकी हुँ । म आफु प्रतिवादी कुमार थापामगरसँग विवाह गर्ने उदेश्यले ईश्वरी भुजेललाई मार्ने कार्यमा संलग्न छैन । म र प्रतिवादी नेपाली ब्रो भन्ने कुमार थापामगर बीच भएको प्रेमसम्बन्धका कारण निज प्रतिवादीले आफ्नी श्रीमती ईश्वरी भुजेललाई कर्तव्य गरी मार्ने सम्मको परिस्थिति सृजना भएको हो । यसमा कानुन बमोजिम सहन भोग्न मञ्जुर छु ।

म र प्रतिवादी कुमार थापामगर प्रतिवादी पुजन थापा क्षेत्रीले संचालन गरेको जिल्ला काठमाडौं बालाजुस्थित धनेश्वर अटो मोबायल्स नामक रि( कण्डिन हाउस भेटी कुराकानी गर्ने ठाउँ हो । प्रतिवादी कुमार थापामगर र मबीच प्रेम सम्बन्ध रहेको कुरा प्रतिवादी पुजन थापा क्षेत्री र बिक्रम थापामगरलाई थाहा जानकारी थियो । म र प्रतिवादी कुमार थापामगरबीच प्रेम सम्बन्ध रहेका कारण निजको घर परिवारमा पटक पटक घर झगडा हुने गरेको थियो । सोही कारण प्रतिवादी कुमार थापामगरले ईश्वरी भुजेललाई कर्तव्य गरी मारेका हुन् । निज प्रतिवादी कुमार थापामगरले को कस्को मिलोमतोमा कर्तव्य गरी मारेको हो, सो बारेमा मलाई थाहा भएन । म योजना बनाउने कार्यमा संलग्न छैन भन्ने समेत व्यहोराको प्रतिवादी प्रतिक्षा आचार्यले गरेको बयान ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री