
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश पठाउन लागिएको सुन तथा चाँदीका तयारी गरगहनासहित दुई जना पक्राउ परेका छन्। जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्ने क्रममा प्रहरीले सुन तथा चाँदीको जस्तो देखिने धातुका तयारी गरगहना फेला पारेको हो।
उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट संयुक्त राज्य अमेरिका पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
प्रहरीले जाँच गरिएका कार्गो बाकसबाट ठूलो नौगेडी २२ थान, सानो नौगेडी ४४ थान, २१ गेडी १४ थान, चन्द्रमा १६ थान र जन्तर २० थानलगायतका सुनचाँदीका गरगहनाहरू बरामद गरेको छ।









प्रतिक्रिया