पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना, १५ दिन आपूर्ति रोक्का

मूल्य घट्ने अनुमानका आधारमा पेट्रोल पम्प बन्द गरी बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि नेपाल आयल निगमले कडा कारबाही गर्ने भएको छ।

Advertisement

पेट्रोलियम व्यवसायीले इन्धन नउठाउँदा बुधबार देशभर आपूर्ति प्रभावित भएपछि निगमले यस्तो कदम चालेको हो। अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गर्न स्पष्ट कानुन नभएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ नियम बनाउन निर्देशन दिएकी थिइन्।

मन्त्रीको निर्देशनलगत्तै बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ लाई संशोधन गरेको छ। संशोधित नयाँ नियम अनुसार अब उचित कारणबिना पम्प बन्द गरेमा व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र पाँचदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ। विनियमावलीको दफा २९ मा नयाँ प्रावधान थप गरी विक्रेताले ‘नोजल सुख्खा’ (ड्राई) बनाएर पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने व्यवस्था स्पष्ट रूपमा समेटिएको छ।

संशोधित नयाँ व्यवस्था अनुसार पहिलो पटक नियम उल्लङ्घन गर्ने व्यवसायीलाई तीन लाख रुपैयाँ जरिवाना गरी पाँच दिनसम्म इन्धन आपूर्ति रोकिनेछ। त्यसैगरी दोस्रो पटक पनि सोही कसुर दोहोरिएमा छ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति बन्द गरिने व्यवस्था गरिएको छ। व्यवसायीले तेस्रो पटक पनि नियम उल्लङ्घन गरेमा १० लाख रुपैयाँ जरिवाना भोग्नुपर्नेछ भने १५ दिनसम्म निगमबाट इन्धन आपूर्ति रोक्का गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री