
पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। भिनिसियस जुनियरको दुई गोलको मद्दतले ब्राजिलले स्कटल्यान्डलाई ३-० ले पराजित गरेपछि यो सफलता मिलेको हो।
मियामी स्टेडियममा बिहीबार भएको खेलमा ब्राजिलले सुरुदेखि नै बलियो पकड बनाएको थियो। हारपछि स्कटल्यान्डको पहिलो पटक समूह चरण पार गर्ने सपना भने अब अन्य समूहको नतिजामा निर्भर बनेको छ।

भिनिसियसको कीर्तिमान र खेलको सुरुवात
खेलको सातौँ मिनेटमै भिनिसियसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए। स्कटल्यान्डका सेन्टर–ब्याक स्कट म्याककेन्नाले रक्षापङ्क्तिबाट बल क्लियर गर्ने क्रममा गल्ती गरेपछि भिनिसियसले गोलरक्षक एङ्गस गनलाई छलाउँदै सहजै जाली चुमाए।
यो गोलसँगै भिनिसियस विश्वकपको समूह चरणका तीनै खेलमा गोल गर्ने पाँचौँ ब्राजिली खेलाडी बने। यसअघि जाइरजिन्हो, रोमारियो, रोनाल्डो र रिभाल्डोले मात्र यो उपलब्धि हासिल गरेका थिए।

खेलमा नियन्त्रण र जित सुनिश्चित
पहिलो हाफको इन्जुरी समयमा ब्रुनो गुइमाराएसको क्रसलाई भिनिसियसले हेडमार्फत गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए। यसअघि उनको एउटा गोललाई भिएआर समीक्षाले फाउल ठहर गर्दै मान्यता दिएको थिएन।
दोस्रो हाफको ६०औँ मिनेटमा ब्रुनोकै पासमा म्याथियस कुन्हाले नजिकको पोस्टबाट शक्तिशाली प्रहार गर्दै तेस्रो गोल थपे। स्कटल्यान्डका लुइस फर्गुसन र स्कट म्याकटोमिनेका प्रयासलाई ब्राजिली गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए।

समूह ‘सी’ को समीकरण
खेलको अन्तिम समयमा अनुभवी स्टार नेयमार जुनियर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे। लगातार चौथो विश्वकप खेलिरहेका उनलाई मैदानमा देख्दा समर्थकहरू थप उत्साहित बनेका थिए।
यो जितसँगै ३ खेलबाट ७ अंक जोड्दै ब्राजिल समूह विजेता बन्यो। सोही समूहको अर्को खेलमा हाइटीलाई ४-२ ले हराएको मोरोक्को पनि समान ७ अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ।
३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ। अंकविहीन हाइटी भने प्रतियोगिताबाट बाहिरिएको छ।









प्रतिक्रिया