
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची टुङ्गो लगाएको छ। यसअघि आन्तरिक विवादका कारण ६ प्रदेश र प्रवासका प्रतिनिधिको मात्रै नामावली टुङ्गो लगाएको रास्वपाले आइतबार मध्यरातमा मधेसको सूची पनि फाइनल गरेको हो।
पार्टी स्रोतका अनुसार मधेस प्रदेशमा पर्साबाहेक अन्य सात जिल्लामा विवादका कारण अधिवेशन हुन नसकेपछि प्रतिनिधि चयनमा ढिलाइ भएको थियो। विवाद सुल्झाउँदै केन्द्रीय निर्वाचन समितिले मध्यरातमा सूची सार्वजनिक गरेपछि मधेसको प्रतिनिधित्व सुनिश्चित भएको छ।
रास्वपाका अनुसार मधेस प्रदेशबाट चितवन महाधिवेशनमा ५९२ जना प्रतिनिधि सहभागी हुँदै छन्। मधेस प्रदेशका ८ जिल्लामध्ये पर्सामा मात्रै अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको थियो भने बाँकी जिल्लाका हकमा विशेष व्यवस्था गरी प्रतिनिधि छानिएको हो।
चितवनमा आइतबारदेखि सुरु भएको पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा देशभर र प्रवासबाट गरी कुल ४ हजार २११ जना प्रतिनिधि सहभागी छन्। मधेसको सूची थपिएसँगै अब महाधिवेशनको बन्दसत्र र नयाँ नेतृत्व चयनको प्रक्रिया सहज रूपमा अघि बढ्ने पार्टीले जनाएको छ।










प्रतिक्रिया