
कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडा जोड्ने जालपादेवी केबलकार आगामी असोज महिनाभित्रै सञ्चालनमा आउने भएको छ। विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको यस महत्त्वाकाङ्क्षी आयोजनाको निर्माण कार्य हाल तीव्र गतिमा अघि बढिरहेको छ।
आयोजनाका इन्जिनियर विजय पौडेलले पोल ठड्याउने र बटम तथा टप स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। त्यसलगत्तै तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक प्रक्रिया अघि बढ्ने जानकारी उनले दिए।
यस परियोजनाअन्तर्गत ३ दशमलव १ किलोमिटर लामो केबलकारसँगै होटल, रेष्टुरेन्ट, स्काइवाक र पार्क निर्माण भइरहेका छन्। आइएमई समूहको मुख्य लगानी रहेको यस आयोजनाको टप स्टेशनमा जालपादेवी मन्दिर र बटम स्टेशनमा पाँचतारे होटल तथा ब्यान्क्वेट हल तयार हुँदैछन्।
लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपक तिमिल्सेनाले १३ वर्षअघिको सपनाले साकार रूप लिन थालेकाले स्थानीयमा उत्साह थपिएको बताए। यो परियोजना सञ्चालनमा आएपछि कैलालीको गर्मीबाट जोगिन चाहनेका लागि राजकाँडा एउटा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने विश्वास उनले व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुवँरले यो ऐतिहासिक निजी लगानीले होटल, यातायात र कृषि क्षेत्रमा प्रत्यक्ष लाभ पुर्याउने बताए। टिकापुर र लम्की उद्योग वाणिज्य सङ्घका अध्यक्षद्वय सन्तोष खड्का र पदमराज चौलागाईंले पनि यसले सुदूरपश्चिममा थप लगानी आकर्षित गर्ने धारणा राखे।
नेपालकै लामो कर्णाली नदी र चिसापानी पुलको सामीप्यमा रहेको यो परियोजना भारतीय सीमाबाट नजिक हुनु यसको अर्को सबल पक्ष हो। भारतको उत्तराखण्ड र उत्तरप्रदेशका २७ करोडभन्दा बढी जनसङ्ख्या भएको बजारलाई लक्षित गरी अन्तरदेशीय पर्यटन केन्द्रका रूपमा यसलाई विकास गर्न खोजिएको छ।
गौरीफन्टा, गड्डाचौकी र रुपैडिहा नाकाबाट सहज सडक पहुँच भएकाले भारतीय पर्यटकका लागि यो क्षेत्र प्रमुख आकर्षण बन्ने व्यवसायी कालु हमालले बताए। पर्यटन व्यवसायी देवराज जैशी र राजन चौधरीले बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गल सफारी र र्याफ्टिङलाई एकापसमा जोडेर एकीकृत प्याकेज बनाउनुपर्ने सुझाव दिए।
परियोजनाले रैथाने सीप र संस्कृतिको प्रचार गर्दै रोजगारीका नयाँ ढोका खोल्ने आशा स्थानीय होमस्टे व्यवसायी किशोर थारु र होटल व्यवसायी टङ्क पराजुलीले व्यक्त गरे। यसले सुदूरपश्चिमका युवाहरूलाई रोजगारीका लागि भारत वा खाडी मुलुक जानुपर्ने बाध्यतालाई कम गर्ने स्थानीयको विश्वास छ।
जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसलाई केवल पर्यटन परियोजना मात्र नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्ने बताए। मुलुकको पर्यटन पूर्वाधार विकास गरेर मात्रै पर्यटकको बसाइँ लम्ब्याउन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सकिने उनको भनाइ छ।
सातै प्रदेशमा यस्ता ठूला पर्यटन पूर्वाधार विकास गर्ने दीर्घकालीन रणनीतिक योजनासहित समूह अघि बढिरहेको उनले प्रस्ट पारे। वर्षौँदेखि सम्भावनाका रूपमा मात्र सीमित कर्णाली किनारका प्राकृतिक सम्पदालाई यस केबलकारले आर्थिक अवसरमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया