
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पदाधिकारी चयनमा सहमति जुटाउने प्रयास असफल भएको छ।
आकाङ्क्षी नेताहरूले एक पद त्याग्दा अर्को महत्त्वपूर्ण जिम्मेवारी खोजेपछि सहमति जुट्न नसकेको हो।
सभापति रवि लामिछानेले रातभर आकाङ्क्षीहरूसँग छलफल गरेर सहमति जुटाउने प्रयास गरेपनि त्यो सफल हुन सकेन। सहमतिको प्रयास जारी रहेकै कारण निर्वाचन आयोगले मतदानको प्रक्रिया रोकेर राखेको थियो।
उपसभापति र महामन्त्रीमा सकस
उपसभापति र महामन्त्री पदमा आकाङ्क्षीहरूको सङ्ख्या धेरै हुँदा सहमति जुटाउन बढी सकस भएको नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। सभापतिले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि नेताहरूले अन्य उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने माग राखेपछि सहमति टरेको उनले बताए।
सहमति नजुटेपछि अब पुनः चुनावी प्रक्रिया नै अघि बढाइने भएको छ। निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले उम्मेदवारहरूको समानुपातिक सूची मिलाएर बिहान १० बजेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।
प्रतिनिधिहरू फर्किएपछि अन्योल
चितवनमै रहेका प्रतिनिधिहरूले मतदान गर्न पाउनुपर्ने अडान राखेका कारण निर्वाचनबाटै पदाधिकारी चयन हुने सम्भावना बलियो बनेको छ। यद्यपि महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरूले भने चितवन छाडिसकेका छन्।
प्रतिनिधिहरू फर्किसकेको अवस्थामा मतदान कसरी अगाडि बढाउने भन्नेबारे अन्योल सिर्जना भएको छ। निर्वाचन आयोगले भने प्राविधिक र व्यवस्थापकीय तयारी पूरा गरेर मतदानको कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ।









प्रतिक्रिया