
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फिफा विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। सोमबार भएको अस्ट्रियाविरुद्धको खेलको ३८ औं मिनेटमा गोल गर्दै उनले यो ऐतिहासिक सफलता हात पारेका हुन् ।
यस कीर्तिमानी गोलसँगै मेस्सीको विश्वकपमा कुल गोल सङ्ख्या १७ पुगेको छ । उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको १२ वर्ष पुरानो रेकर्डलाई आधिकारिक रूपमा भङ्ग गरेका हुन् ।
जारी सन् २०२६ को विश्वकप अन्तर्गत समूह चरणको खेलमा अस्ट्रियाविरुद्ध मैदान उत्रिँदा मेस्सीले खेलको पहिलो हाफमै टोलीलाई अग्रता दिलाएका थिए । यो गोल उनको यस प्रतियोगिताको चौथो गोल समेत हो ।
यसअघि अल्जेरियाविरुद्धको खेलमा उत्कृष्ट ह्याट्रिक गर्दै उनले क्लोजको रेकर्डसँग बराबरी गरेका थिए । अस्ट्रियाविरुद्धको खेलमा गरेको प्रहारले उनलाई इतिहासकै शीर्ष स्थानमा एक्लै स्थापित गराइदिएको छ ।
मेस्सी पुरुष फिफा विश्वकपको इतिहासमा ६ वटा फरक संस्करण खेल्ने विश्वकै पहिलो फुटबलर समेत बनिसकेका छन् । उनले सन् २००६ को विश्वकपमा सर्बियाविरुद्ध आफ्नो पहिलो विश्वकप गोल गरेका थिए ।
त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले ३५ वर्षको उमेर पार गरेपछि मात्रै १० वटा विश्वकप गोल गरिसकेका छन् । मेस्सीले ब्राजिलका रोनाल्डोको १५ गोल र फ्रान्सका किलियन एम्बाप्पेको १४ गोलको कीर्तिमानलाई पनि पछि पारिसकेका छन् ।









प्रतिक्रिया