
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ का अन्तिम खेलहरू सकिएसँगै जापान र नेदरल्यान्ड्स नकआउट चरणमा पुग्न सफल भएका छन्।
शुक्रबार भएका खेलहरूमा नेदरल्यान्ड्सले ट्युनिसियामाथि सानदार जित निकाल्यो भने जापानले स्विडेनसँग बराबरी खेल्दै अघिल्लो चरणको यात्रा पक्का गर्यो।
कानसास सिटीमा भएको खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक जोड्यो। डच टोलीले खेलको सुरुवाती १० मिनेटभित्रै दुई गोल गर्दै आफ्नो पकड बलियो बनाएको थियो भने तेस्रो गोल दोस्रो हाफमा थप्यो।
ट्युनिसियाले दोस्रो हाफको सुरुवातमै एक गोल फर्काए पनि खेलमा फर्कन सकेन र शून्य अंकसहित प्रतियोगिताबाट बाहिरियो। यो जितसँगै नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
जापान र स्विडेनको रोमाञ्चक बराबरी
डालास स्टेडियममा भएको समूहको अर्को प्रतिष्पर्धात्मक खेलमा जापान र स्विडेनले १–१ गोलको बराबरी खेलेका छन्। पहिलो हाफ गोलरहित सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले उत्कृष्ट प्रहार गर्दै १–१ गोल गरे।
खेलको ५६ औँ मिनेटमा डायची मायदाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। तर ६२ औँ मिनेटमा स्विडेनका एन्थोनी एलागाले जवाफी गोल गरेपछि खेल बराबरीमा टुङ्गियो।
यो बराबरीपछि ५ अंक जोडेको जापान समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो। स्विडेन भने ३ अंकसहित समूहको तेस्रो स्थानमा रहँदै बाहिरिएको छ।









प्रतिक्रिया