
झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीका भूपेन्द्र तामाङले वन्यजन्तुले क्षति पुर्याउन नसक्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती सुरु गरेपछि झापामा यो एउटा नयाँ कृषि क्रान्ति बनेको छ। जङ्गलको छेउमा खेतबारी भएकाले हात्ती र बाँदरको बथानले बाली सखाप पार्ने चिन्ता सधैँ हुने गरेपछि इन्जिनियर तामाङले यो खेतीको सुरुवात गरेका हुन्।
उनले टुकु कृषि फार्म दर्ता गरी ६ वर्षअघि दुई बिघा निजी जग्गामा ३०० वटा ‘मेकाडामिया नट्स’का बिरुवा रोपेका थिए। पोखरास्थित कृषि अनुसन्धान केन्द्रबाट प्रतिगोटा रु २ सयका दरले बिरुवा खरिद गरेर उनले नेपालमै पहिलोपटक यति ठूलो क्षेत्रफलमा यसको व्यावसायिक खेती गरेका हुन्।
बोटको पातमा काँडा हुने र फल अत्यन्तै कडा हुने भएकाले यो बालीलाई वन्यजन्तुले कुनै नोक्सान पुर्याउन सक्दैनन्। पोथ्रे बोटमा झुप्पा बनेर फल्ने र भदौमा पाक्ने यो फललाई चराचुरुङ्गीले समेत क्षति पुर्याउन नसक्ने विशेषता रहेको छ।
ओमेगा–१, ओमेगा–२ र ओमेगा–३ जस्ता पोषक तत्व प्रचुर मात्रामा पाइने भएकाले अन्तर्राष्ट्रिय बजारमा ‘मेकाडामिया नट्स’लाई निकै महँगो फल मानिन्छ। जागिरको समयबाहेक र बिदाका दिन फार्ममा व्यस्त रहने तामाङले आफ्नो पुरानो सुपारी बगानभित्र खाली रहेको स्थान उपयोग गरी यो फल रोपेका हुन्।
गत वर्षदेखि सामान्य फल्न सुरु गरेको यो खेतीले यसपालि मनग्य उत्पादन दिएको छ। नेपाली बजारमा प्रतिकिलो रु २ हजारका दरले सजिलै बिक्री हुने यो फलको एउटा बोटले ४० देखि ६० किलोसम्म उत्पादन दिने गर्दछ।
असिनापानीले सामान्य क्षति पुर्याए पनि यस वर्ष फार्मबाट २ हजार किलो फल उत्पादन हुने आकलन तामाङले गरेका छन्। चालु याममा मात्रै रु ४० लाख आम्दानी हुने र करिब रु १४ लाख लगानी कटाएर रु २५ लाखभन्दा बढी खुद मुनाफा हुने उनको दाबी छ।
कृषि ज्ञानकेन्द्र भद्रपुरका प्रमुख सागर विष्टका अनुसार झापामा अन्यत्र यसको व्यावसायिक खेती हालसम्म भएको जानकारी छैन। अन्य क्षेत्रमा शौखका लागि किसानले एकाध बोट रोपेको पाइए पनि तामाङले गरेको यो खेती सरकारी निकायका लागिसमेत अध्ययनको विषय बनेको विष्टले बताए।
बिरुवालाई रोग र कीराबाट जोगाउन कुनै पनि रासायनिक विषादी र मल प्रयोग नगरी पूर्ण रूपमा प्राङ्गारिक रूपमा खेती गरिएको छ। स्थानीय मलको प्रयोगबाट भविष्यमा अर्गानिक ‘मेकाडामिया नट्स’को आफ्नै नेपाली ब्रान्डिङ गर्ने तामाङको योजना छ।
मूलतः अस्ट्रेलियाको जङ्गलमा उत्पत्ति भएको यो फल नेपालमा पहिलोपटक सन् १९६२ मा त्रिशूली फार्ममा भित्र्याइएको इतिहास छ। बोट कडा र जराहरू झाडीजस्तो हुने भएकाले यो प्रतिकूल हावापानी, मौसम र माटोमा पनि सजिलै फस्टाउन सक्छ।










प्रतिक्रिया