कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी’ डिजिटल कर्जा प्लेटफर्मको सुरुवात

कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आइएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा देशकै पहिलो इआरपी-एकीकृत डिजिटल कर्जा (रियल-टाइम) प्लेटफर्म सार्वजनिक गरेको छ।

Advertisement

बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत आइएमएसको इआरपी सफ्टवेयरमार्फत विनाधितो कर्जा प्रदान गर्नेछ। यसका लागि लामो कागजी प्रक्रिया तथा बैंकका शाखा धाउनुपर्ने झन्झट पूर्ण रूपमा हट्ने भएको छ।

यो नयाँ प्लेटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाटै सम्पन्न गर्ने सुविधा प्रदान गर्दछ। इआरपी प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दाजस्ता वास्तविक समय (रियल-टाइम) डेटाका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सक्नेछ।

Advertisement

यो डेटामा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पुर्‍याउँदै परम्परागत धितो आवश्यकता विना नै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ।

यसमार्फत इआरपी प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा ५० लाख रुपैयाँसम्मको चालू पुँजी कर्जा (वर्किङ क्यापिटल लोन) प्राप्त गर्न सक्नेछन्।

उक्त कर्जालाई १२ महिनासम्मको समान मासिक किस्ता (इएमआई) मार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ। सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ।

यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने परिकल्पनाअनुरूप रहेको छ। नवप्रवर्तन र वित्तीय समावेशीकरणप्रतिको कुमारी बैंकको प्रतिबद्धता प्रतिबिम्बित गर्ने यो सेवाले विशेषगरी साना तथा मझौला उद्यमी (एसएमइज) हरूलाई बढी लाभान्वित गर्ने विश्वास गरिएको छ।

नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका लाखभन्दा बढी साना तथा मझौला उद्योगहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलेले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ। साथै, यसले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास बैंकको छ।

२ सय ८६ शाखाहरू र ४१ एक्स्टेन्सन काउन्टरहरूको देशव्यापी सञ्जाल, सुदृढ बैंकिङ अनुभव तथा प्राविधिक साझेदारहरूसँगको सहकार्यबाट कुमारी बैंक नेपालमा डिजिटल वित्तीय रूपान्तरणको अग्रपंक्तिमा उभिएको छ। यस पहलले साना तथा मझौला उद्यमीहरूको कर्जा पहुँचमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वासका साथ बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवाका लागि सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री