
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको छ।
बैंकले दृष्टिविहीन तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा डिजिटल बैंकिङ सेवा उपयोग गर्न सक्ने व्यवस्था मिलाएको हो।
बैंकले आफ्नो वेबसाइटमा विभिन्न पहुँचमैत्री सुविधाहरू समावेश गरी सबै वर्गका ग्राहकहरूका लागि समान पहुँच सुनिश्चित गरेको छ।
नयाँ व्यवस्थाअन्तर्गत वेबसाइटमा स्क्रिन रिडर (screen reader) मैत्री संरचना, अक्षरको आकार परिवर्तन गर्न मिल्ने सुविधा (font size change) र उच्च कन्ट्रास्ट (high contrast) विकल्प राखिएको छ। यसका साथै दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरूलाई लक्षित गरी अन्य आवश्यक पहुँचसम्बन्धी सुविधाहरू समेत समावेश गरिएको छ।
समावेशी बैंकिङ सेवाप्रति बैंक प्रतिबद्ध रहेको र सबै नागरिकलाई सहज, सुरक्षित तथा पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने आफ्नो दायित्वलाई निरन्तर सुदृढ गर्दै लैजाने बैंकले विश्वास व्यक्त गरेको छ।
नेपालभर २ सय ३१ शाखाहरू, २ सय ४६ एटीएमहरूका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकले सेवा दिँदै आएको छ।
करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ। बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपाल बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।








प्रतिक्रिया