
म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने लगभग निश्चित भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।
यसअघि अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका पुनलाई यो मन्त्रालय सुम्पिन लागिएको स्रोतले जनाएको छ । यद्यपि आफू मन्त्री बन्न लागेको विषयमा आफूलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नआएको पुनले बताए ।
मन्त्री बन्ने चर्चाका बारेमा जिज्ञासा राख्दा पुनले यसबारे आफू पूर्ण रूपमा अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् । उनले यस विषयमा अहिलेसम्म कसैले आफूसँग कुरा नगरेको र कुनै फोनसमेत नआएको स्पष्ट पारे ।
यसअघि पुनले विज्ञान र अनुसन्धान क्षेत्रको विकासका लागि सरकारले कुल बजेटको निश्चित प्रतिशत छुट्याउनुपर्ने माग राख्दै आएका थिए । सरकारले हालै मात्र उनको सोही मागबमोजिम नयाँ बजेटमा यस क्षेत्रका लागि विशेष व्यवस्था गरेको छ ।
पुनको मागलाई सम्बोधन गर्दै सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पर्याप्त बजेटको व्यवस्था मिलाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणका क्रममा यस क्षेत्रका लागि पूँजीगत खर्चको १ प्रतिशत बजेट विनियोजन गरिएको घोषणा गरेका थिए ।
लामो समयदेखि अनुसन्धान र आविष्कारको क्षेत्रमा क्रियाशील पुनले बजेटको अनुपात नै तोकेर सरकारसँग माग राख्दै आएका थिए । आफ्नो माग पूरा भएसँगै पुन आफैँ यो मन्त्रालयको नेतृत्व सम्हाल्न तयार हुने सरकारी वृत्तको अनुमान छ ।








प्रतिक्रिया