माछापुच्छ्रे बैंकले सुरु गर्‍यो क्रस बोर्डर ट्रान्सफर, भारतमा रहेका नेपालीलाई पैसा पठाउन झनै सहज

माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन एमबिएल एम–स्मार्टमार्फत नेपाल–भारत–नेपाल रियल–टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । यो नवीन सेवाले दुई छिमेकी मुलुकबीच सुरक्षित र सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति रकम स्थानान्तरणको सुविधा प्रदान गर्नेछ ।

Advertisement

यस सेवाले नेपाल र भारतबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ । बैंकले यो सेवा सञ्चालन गर्दा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डहरू पालना गर्न उच्च प्राथमिकता दिएको छ ।

भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकले त्यहाँ उपलब्ध यूपीआईसँग सम्बन्धित डिजिटल भुक्तानी एप्लिकेसन प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीको बैंक खातामा रकम तत्कालै जम्मा हुने भएकाले यो छिटो र भरपर्दो माध्यम बन्ने देखिन्छ ।

Advertisement

त्यसैगरी नेपालमा बसोबास गर्ने वा यहाँ कार्यरत भारतीय नागरिकले पनि एमबिएल एम–स्मार्ट एप्लिकेसन प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन् । यो पहलले दुई देशबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

नयाँ व्यवस्थाले ग्राहकलाई आधुनिक, सुरक्षित र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । यसले परम्परागत रेमिट्यान्सका झन्झटहरूलाई हटाएर डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेछ ।

आगामी दिनहरूमा पनि थप उच्चतम प्रविधिमैत्री तथा ग्राहककेन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै लैजाने बैंकको योजना छ । डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुविधाहरू उपलब्ध गराउन बैंक सधैं प्रतिबद्ध रहने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री