पाणिनि तपोभूमिबाट योग र ध्यान: प्रचारप्रसारमा नयाँ पहल

अर्घाखाँचीको ऐतिहासिक पाणिनि तपोभूमिलाई विश्वमाझ चिनाउन सोमबार बिहान विशेष योग तथा ध्यान कार्यक्रमको आयोजना गरिएको छ। अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा संचालित योग समूहले महान ऋषि पाणिनिले ज्ञान प्राप्त गरेको उक्त पुण्य भूमिमा यो सत्रको आयोजना गरेको हो।

सन्धिखर्कबाट बिहान ४:०० बजे प्रस्थान गरेको टोलीले बिहान ६:२५ बजेदेखि करिब २:३० घण्टासम्म योग र ध्यान गरेका थिए। कार्यक्रममा योगगुरु पुष्पा भुसाल, आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कमल आचार्य र योग गुरु अशोक खनालले सहजीकरण गरेका थिए।

सकारात्मक ऊर्जा र धार्मिक महत्त्व

Advertisement

यो विशेष योग सत्रमा १९ जना योगसाधकहरूको सहभागिता रहेको थियो। महान ऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको पवित्र स्थानमा योग गर्दा बेग्लै सकारात्मक ऊर्जा प्राप्त भएको योग साधक गुणानिधि भुसालले बताए।

पवित्र धार्मिक स्थलहरूको प्रचारप्रसारका लागि अरूको मुख ताक्नुभन्दा सबैले आ-आफ्नो स्थानबाट सकारात्मक र आध्यात्मिक क्रियाकलाप गर्नुपर्नेमा सहभागीहरूले जोड दिए। यस्ता गतिविधिले पाणिनि जस्तो महत्त्वपूर्ण ऐतिहासिक क्षेत्रको प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने उनीहरूको भनाइ थियो।

ऐतिहासिकता र स्वागत

पाणिनि तपोभूमिका अध्यक्ष पुष्करराज पोखरेल र पण्डित नवहरि पोखरेलले पाणिनि ऋषिको जीवनी, तपोभूमिको विकासक्रम, योजना र निर्मित संरचनाबारे प्रकाश पारेका थिए। यो पुण्य भूमिमा योग संचालन गर्ने सोच अत्यन्तै सान्दर्भिक र सकारात्मक भएको भन्दै उनीहरूले टोलीको प्रशंसा गरे।

कार्यक्रममा उपस्थित सबै साधकहरूलाई टीका, रुद्राक्षको माला र सात्विक भोजन गराएर स्वागत गरिएको थियो। यो कार्यक्रमको सहजीकरण पाणिनिमा रहेर सशक्त पत्रकारिता गरिरहेका सक्रिय पत्रकार भिम विश्वकर्माले गरेका थिए।

पाणिनि ऋषिको महिमा

Advertisement

ईसापूर्व ५०० मा हालको पाकिस्तानको लाहोर नजिकै पर्ने शलातुरमा दाचि ऋषिका पुत्रका रूपमा जन्मिएका पाणिनि ऋषिले यो स्थानमा तपस्या गरेका थिए। संस्कृत व्याकरणका जन्मदाता पाणिनिले तपस्या गरी भगवान शिवबाट पाएको वरदानकै जगमा व्याकरण, वाक्य र भाषा बनेको विश्वास गरिन्छ।

भाषाको पहिलो स्वरूप व्याकरण भएको र त्यसपछि मात्र वाक्य र भाषा निर्माण भएको इतिहास छ। प्राचीन देववाणी संस्कृत र हालको आधुनिक एआईले समेत प्रयोग गर्ने भाषाको सुरुवातकर्ता पाणिनि नै भएको मानिन्छ। पाणिनि तपोभूमिमा मागेको र सोचेको कुरा पूरा हुने जनविश्वास रहेकाले यसलाई सिद्धको थान पनि भन्ने गरिएको जानकारहरूले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री