नबिल बैंकको क्रस–बोर्डर रेमिट्यान्स सेवा सुरु, ‘एनबैंक’ एपबाटै भारतमा पैसा पठाउन सकिने

नबिल बैंकले नेपाल र भारतबीच तत्काल पैसा पठाउन र प्राप्त गर्न सकिने क्रस-बोर्डर पर्सन–टु–पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत दुवै देशका ग्राहकले सुरक्षित डिजिटल माध्यमबाट रकम लेनदेन गर्न सक्नेछन् ।

नबिल बैंकमा खाता भएका भारतीय नागरिकले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन पाउनेछन् । त्यस्तै नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका नबिल बैंकका प्रयोगकर्तालाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था समेत गरिएको छ ।

दैनिक र मासिक कारोबारको सीमा तोकियो

Advertisement

सीमापार भुक्तानीलाई सरल र सुरक्षित बनाउने उद्देश्यले ल्याइएको यस सेवामा नियामकीय व्यवस्था अनुसार निश्चित सीमा तोकिएको छ । नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम १५ हजार भारतीय रुपैयाँ र मासिक अधिकतम १ लाख भारतीय रुपैयाँसम्म पठाउन सक्नेछन् ।

भारतबाट नेपालतर्फ रकम पठाउँदा भने दैनिक अधिकतम २ लाख भारतीय रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ । भारतबाट नेपाल पैसा पठाउने हकमा कुनै मासिक सीमा लागू नहुने बैंकले जनाएको छ ।

एनसीएचएल र यूपीआईको सहकार्य

यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) को प्राविधिक सहकार्यमा सञ्चालन गरिएको हो । यसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्ने विश्वास लिइएको छ ।

नयाँ सेवाले सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए । डिजिटल बैंकिङ सेवा सुधार गर्ने र ग्राहक सुविधालाई विस्तार गर्ने बैंकको प्रतिबद्धतालाई यसले प्रतिबिम्बित गर्ने उनले उल्लेख गरे ।

डिजिटल बैंकिङमा नबिलको फड्को

Advertisement

चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो र डिजिटल बैंकिङको अवधारणालाई आत्मसात् गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

देशभर २ सय ६६ शाखा सञ्जाल र ३ सय १८ एटिएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री