शोधनान्तर बचतमा उल्लेख्य सुधार

चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा नेपालको शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ मात्र रहेको थियो ।

अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष ३ अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब ९८ करोड डलर पुगेको छ । विदेशी मुद्राको बलियो सञ्चितिका कारण समग्र मुलुकको आर्थिक परिसूचकमा सकारात्मक प्रभाव देखिएको हो ।

चालु खाता र पुँजीगत ट्रान्सफर

Advertisement

समीक्षा अवधिमा देशको चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो ।

यसलाई अमेरिकी डलरमा हिसाब गर्दा अघिल्लो वर्षको २ अर्ब १ करोडको तुलनामा समीक्षा अवधिमा ५ अर्ब ५ करोड डलर कायम भएको छ । यसैगरी समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ८ अर्ब ४८ करोड रुपैयाँ सीमित थियो ।

वैदेशिक लगानीमा वृद्धि

देशमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) मा पनि अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ । समीक्षा अवधिमा १६ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ५८ करोड रुपैयाँ मात्र रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । यसरी समग्र बाह्य क्षेत्रका सूचकहरूमा सुधार आउँदा अर्थतन्त्रमा केही राहत मिलेको देखिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री