तीन पुस्तालाई एउटै मञ्चमा जोड्दै ‘खन–काठमाडौं सेवा समाज’, ज्येष्ठ नागरिकदेखि राष्ट्रसेवकसम्म सम्मानित

काठमाडौं, जेठ २३ – रोजगारी र व्यवसायका सिलसिलामा काठमाडौंमा रहेका अर्घाखाँचीका खनबासीहरूले आफ्नो जन्मभूमिप्रतिको दायित्व कर्मबाटै निभाउन सकिने उदाहरण देखाएका छन्। ‘खन–काठमाडौं सेवा समाज’ले राजधानीमा एक विशेष समारोह आयोजना गरी गाउँको प्रतिष्ठा बढाउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरेको हो।

गौशालास्थित बद्रीनाथ होटलमा आयोजित कार्यक्रममा खन गाउँका तीन पुस्तालाई एउटै मञ्चमा उभ्याइएको थियो। यसले समाजमा संस्कार र पुस्तान्तरणको सकारात्मक सन्देश प्रवाह गर्दै उपस्थित सबैलाई भावुक समेत बनाएको थियो।

Advertisement

गाउँको इतिहास, संस्कार र परम्परालाई जीवन्त राख्न योगदान पुर्‍याएका १३ जना ज्येष्ठ नागरिकलाई कार्यक्रममा दोसल्ला र सम्मानपत्र अर्पण गरिएको थियो। समाजले उनीहरूको जीवनभरको योगदानको कदर गर्दै उच्च सम्मान प्रकट गरेको हो। सम्मानित हुने ज्येष्ठ नागरिकहरूमा ईश्वरीप्रसाद खनाल, खुमकला खनाल, रेनुका खनाल, रुद्रदेवी खनाल र रुद्रकला खनाल रहेका छन्।

यस्तै रुद्रप्रसाद घिमिरे, शान्ता खनाल, बालकुमारी खनाल, भक्तिप्रसाद खनाल, ढुनिराम खनाल, हरिप्रसाद खनाल, हुमकला रिजाल तथा इन्द्राकुमार घिमिरेलाई पनि सम्मान गरियो।

शिक्षा तथा अनुसन्धानको क्षेत्रमा विद्यावारिधि हासिल गरेका डा. मदन खनाललाई समारोहमा विशेष सम्मान प्रदान गरिएको थियो। यस्तै राष्ट्रसेवामा पुर्‍याएको योगदानको कदर गर्दै उपसचिवहरू भेषराज खनाल, तेजबहादुर खनाल र वासुदेव खनाललाई सम्मानित गरियो।

नेपाल आयल निगमकी निर्देशक निर्मला आचार्य र नेपाल प्रहरीका खिमप्रसाद खनालले जन्मभूमिको गरिमा बढाएका भन्दै सम्मान पाए। कला क्षेत्रबाट जमुना सनाम तथा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरू समृद्धि खनाल र विष्णु विश्वकर्मा पनि सम्मानित भए।

Advertisement

संस्थाका अध्यक्ष खिमप्रसाद घिमिरेले संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो थातथलो र खनबासीहरू एकआपसमा जोडिनुपर्ने आवश्यकता औँल्याए। उनले समाजलाई सामाजिक रूपान्तरण र आपसी सहकार्यको सशक्त माध्यम बनाउनुपर्नेमा जोड दिए।

प्रमुख अतिथि डिल्लीराज घिमिरेले जन्मभूमिसँगको सम्बन्ध कहिल्यै टुट्न नहुने भन्दै यस्ता रचनात्मक अभियान गाउँसम्म पुर्‍याउनुपर्ने बताए। ललितपुर जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालले राजधानीमा खनालीहरूको एकता प्रशंसनीय रहेको उल्लेख गरे।

समाजसेवी लिलबहादुर विकले आफू जन्मिएको माटो र इतिहासलाई कहिल्यै भुल्न नहुने धारणा राखे। यो कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउनुका साथै नयाँ पुस्तालाई जिम्मेवार बन्न प्रेरणा दिएको सहभागीहरूले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री