
ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपियाँमा पाइन्छ। त्यही औषधि भरतपुर अस्पतालले १ रुपियाँ १२ पैसामा बिक्री गर्छ भने स्वास्थ्य बिमा बोर्डले त्यसको बिक्री मूल्य १ रुपियाँ ५६ पैसा तोकेको छ।
भरतपुर अस्पतालले बोलपत्रबाट खरिद गर्दाको मूल्यमा २० प्रतिशत नाफा थप गरेर बिक्री गर्दा यो मूल्य आएको हो। यसरी हेर्दा अस्पतालले खरिद गरेको मूल्य र औषधिको बजार खुद्रा मूल्यमा आठ गुणाभन्दा बढी फरक परेको देखिन्छ।
प्रोस्टेटका बिरामीले प्रयोग गर्ने सिलोडोसिन ८ एमजीको बजार मूल्य प्रतिट्याबलेट ३५ रुपियाँ पर्छ। तर सोही औषधि स्वास्थ्य बिमाले ७ रुपियाँ तोकेको छ भने अस्पतालले बिमाबाहेककालाई ७ रुपियाँ १५ पैसामा बिक्री गर्छ।
कोलेस्ट्रोलका लागि प्रयोग हुने रोजोभास्टिन २० एमजीको खुद्रा मूल्य ३८ रुपियाँ रहेको छ। स्वास्थ्य बिमाले यसको मूल्य ३ रुपियाँ ३८ पैसा तोक्दा भरतपुर अस्पतालले १ रुपियाँ ७२ पैसामा उपलब्ध गराउँदै आएको छ।
कलेजोका लागि प्रयोग हुने युविलिक ३०० एमजीको बजार मूल्य ४० रुपियाँ रहेको छ। यसलाई स्वास्थ्य बिमाले ४ रुपियाँ ५ पैसा र भरतपुर अस्पतालले ११ रुपियाँ २६ पैसामा बिक्री गर्छन्।
दम हुँदा तान्ने सेरिडिल २५० को रोटा क्यापको बजार मूल्य प्रतिबट्टा ६ सय ८ रुपियाँ पर्छ। सोही औषधिलाई स्वास्थ्य बिमाले ३ सय २३ रुपियाँ ४० पैसा र भरतपुर अस्पतालले ३ सय ७७ रुपियाँ ९० पैसा लिने गरेका छन्।
मधुमेहका बिरामीले खाने इन्फाग्लिप्टिन २५ एमजीको बजार मूल्य ३० रुपियाँ तोकिएको छ। स्वास्थ्य बिमाले यसको १० रुपियाँ ५० पैसा तोक्दा भरतपुर अस्पतालले १६ रुपियाँ ९५ पैसामा बेचिरहेको छ।
भिटामिन बि १२ का लागि प्रयोग हुने मिथायल कोवालामिन १५०० एमजीको बजार मूल्य १९ रुपियाँ ८० पैसा छ। यसलाई स्वास्थ्य बिमा बोर्डले २ रुपियाँ ७० पैसा र भरतपुर अस्पतालले १० रुपियाँ ५३ पैसामा बिक्री गर्दै आएका छन्।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विश्ववन्धु बगाले बिमाको दररेटमा कतिपय औषधि बिक्री गर्न कठिन हुने बताए। बोलपत्रमार्फत खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा जोडेर हुने मूल्य वा बिमाले तोकेको मूल्यमध्ये जुन सस्तो छ, बिमाका बिरामीका लागि सोही आधारमा औषधि बिक्री गर्ने गरेको उनले जानकारी दिए।
आफू अस्पतालमा आए लगत्तै खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नहुने गरी दररेट निर्धारण गरेको बगालेले उल्लेख गरे। सोही कारण कतिपय औषधिमा बिमाले तोकेकोभन्दा सस्तो दररेट कायम भएको उनले स्पष्ट पारे।
नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का महासचिव सन्तोष बराल बजार मूल्यको आधारभन्दा सस्तोमा औषधि बिक्री गर्दा नोक्सान हुने दाबी गर्छन्। औषधि उत्पादकले थोक बिक्रेतालाई र थोक बिक्रेताले खुद्रा बिक्रेतालाई औषधि बिक्री गर्ने गर्दछन्।
उत्पादक कम्पनीले धेरै मिहिनेत गर्ने हुँदा लागत मूल्य निकै कम भए पनि औषधिको बजार मूल्य धेरै महँगो हुने गरेको गुनासो आउने गरेको छ। यद्यपि औषधिको नियमन र बजार मूल्य सरकारी निकायबाटै तय हुने गर्दछ।








प्रतिक्रिया