दिपक भट्टको बयान: विदेशमा घर किनेको र सेटिङ गरी सम्पत्ति कमाएको आरोप सरासर झुटो

व्यवसायी दीपक भट्टविरूद्ध अदालतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा अभियोग दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले उनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Advertisement

भट्टलाई गत चैत १९ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाएको थियो। विभागले उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको विषयमा दुई महिनासम्म अनुसन्धान गरेर प्रतिवेदन बुझाएको हो।

भट्ट र उनका साझेदारहरू मिलेर हिमालयन रि–इन्स्योरेन्ससहित पाँच वटा इन्सुरेन्स कम्पनीबाट रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ। ४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको यस प्रकरणमा सीआईबीले छुट्टै अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा बैंकिङ्ग कसुर र धितोपत्रसम्बन्धी दुई वटा छुट्टाछुट्टै प्रतिवेदन बुझाइसकेको छ।

Advertisement

हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको घटनामा भट्टले आफ्नो कसुर गर्ने मनसाय नरहेको बयान दिएका छन्। इन्फिनिटी होल्डिङ्स प्रालिका सञ्चालक समेत रहेका भट्टले कम्पनीको नाममा जग्गा र सेयर खरिद गर्दा सम्पत्ति शुद्धीकरण गर्ने वा स्रोत छल्ने मनसाय नराखेको जिकिर गरे।

अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले हिमालयन रिको रकम दुरुपयोग गरी ५५ नम्बर ब्रोकर कम्पनीमा नल्याएको दाबी गरे। उनले आफ्ना साथी सुलभ अग्रवालले आफूलाई विश्वासमा पारेर आफ्नो नामबाट सेयर कारोबार गरेको आरोप लगाए।

सुलभ अग्रवालले शेखर गोल्छा, रोहित गुप्ता, अमित मोर र राजबहादुर शाहसहित मिलेर सेयर बजारमा लगानी गर्ने कुरा गरेको भट्टले बयानमा उल्लेख गरे। ब्रोकरले सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) दिने भन्दै अग्रवालले सम्झौतामा सही गराएको र टिएमएस, मेरो सेयर तथा डिम्याटको पासवर्डसमेत निजैले चलाएको भट्टको भनाइ छ।

भट्टले सम्पत्ति शुद्धीकरण गरेर थाइल्यान्ड, दुबई र सिंगापुर लगायतका देशहरूमा घर खरिद गरेको कुरालाई सरासर झुटा भन्दै अस्वीकार गरेका छन्। आफू कुनै पनि राजनीतिक एवं लाभको पदमा नरहेको र विशुद्ध व्यवसायी भएकाले प्रचलित कानुनभित्रै रहेर व्यापारिक धर्म निर्वाह गरेको उनको जिकिर छ।

विभिन्न बैंक, वित्तीय संस्था र व्यक्तिहरूबाट ऋण एवं सरसापटी लिएर व्यवसाय गर्दै आएको बताउँदै उनले हालसम्म कुनै फौजदारी मुद्दा नपरेको दाबी गरे। सरकारी नियुक्तिहरूमा सेटिङ गरेर सम्पत्ति आर्जन गरेको आरोपसमेत उनले अस्वीकार गरे।

बयानका क्रममा भट्टले शंकरलाल अग्रवालसँग ग्रिन नेपाल डेभलपर्स प्रालिको २९ हजार कित्ता सेयर २४ करोड ८९ लाख ९४ हजार रुपैयाँमा बिक्री गर्ने सम्झौता गरे पनि पछि खरिदकर्ताले अस्वीकार गरेपछि सिद्धार्थ बैंकको खाताबाट रकम फिर्ता गरेको बताए। श्रीराम टोवाको प्रालिको सेयर खरिद गर्ने कार्य इन्फिनिटी होल्डिङ्स प्रालिले विशुद्ध व्यावसायिक रूपमा लगानी गरेको र फेवा डेभलपर्स प्रालि लगायतका कम्पनीहरूको सेयर जग्गा खरिद गर्ने मनसायले नै पटक–पटक गरेर किनेको उनले स्पष्ट पारे।

जगदम्बा स्टिल्स प्रालिलाई जग्गा बिक्री गर्नका लागि लिएको बैनाबापतको रकमबाट इन्फिनिटी होल्डिङ्सको सेयर पुँजी ३ करोडबाट बढाएर ४८ करोड पुर्‍याइएको उनले स्वीकार गरे। पछि कोभिडका कारण असहज परिस्थिति बनेपछि उक्त बैना रकम ब्याजसहित फिर्ता गरेको उनले बताए।

आफ्नो लगानीमा स्थापना भएका ग्रिन नेपाल डेभलपर्स, फेवा डेभलपर्स, डेल्टा डेभलपर्स, इन्फिनिटी इन्फ्रास्ट्रक्चर र लेखनाथ डेभलपर्स लगायतका कम्पनीहरू व्यावसायिक प्रयोजनका लागि मात्र खोलिएकाले यिनीहरूबाट कुनै गैरकानुनी कार्य नभएको भट्टको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री