
नेपालको विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति ३८ दशमलव ३ प्रतिशतले बढेर ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार गत वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ मात्रै रहेको थियो । अमेरिकी डलरमा पनि सञ्चिति २४ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोडबाट २४ अर्ब १९ करोड डलर कायम भएको छ ।
राष्ट्र बैंक र अन्य वित्तीय संस्थाको हिस्सा
केन्द्रीय बैंकका अनुसार कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको हिस्सा ३६ दशमलव ६ प्रतिशतले बढेको छ । यससँगै राष्ट्र बैंकको खातामा मात्रै ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ सञ्चित भएको छ ।
त्यस्तै वाणिज्य बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंक बाहेक) सँग रहेको सञ्चिति ५४ दशमलव ४ प्रतिशतले बढेर ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । वैशाख मसान्तसम्मको कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २० दशमलव ६ प्रतिशत रहेको छ ।
साढे २२ महिनाको वस्तु आयात धान्ने
चालु आर्थिक वर्षको १० महिनासम्मको आयातको अवस्थालाई आधार मान्दा अहिलेको सञ्चिति इतिहासकै बलियो स्थितिमा देखिएको छ । बैंकिङ क्षेत्रसँग रहेको यो सञ्चितिले २२ दशमलव ६ महिनाको वस्तु आयात धान्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
वस्तु तथा सेवा दुवैको आयातलाई हिसाब गर्दा भने यो सञ्चितिले १९ दशमलव २ महिनाका लागि पर्याप्त हुने देखिन्छ । पछिल्लो समय आयातमा आएको संकुचन र रेमिट्यान्सको निरन्तर वृद्धिले सञ्चिति बढाउन मुख्य भूमिका खेलेको हो ।








प्रतिक्रिया