
उत्तर अमेरिकी महाद्वीपका तीन देश अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा फिफा विश्वकप २०२६ को भव्य सुरुवात हुँदै छ । फुटबल इतिहासमै पहिलो पटक ४८ टोलीले सहभागिता जनाएको यस महाकुम्भमा कुल १ सय ४ खेलहरू सञ्चालन हुनेछन् ।
मेक्सिको सिटीस्थित ऐतिहासिक रङ्गाशालामा आयोजित विशेष समारोहबिच विश्वकपको औपचारिक उद्घाटन गरिँदै छ । उद्घाटन समारोहमा प्रसिद्ध गायिका सकिरा र नाइजेरियाली कलाकार बर्ना ब्वायले विश्वकपको आधिकारिक गीत ‘डाई डाई’ प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पार्नेछन् ।
सुपरकम्प्युटरको प्रक्षेपण र दाबेदारी
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै छ । खेल विश्लेषक संस्था अप्टाको सुपरकम्प्युटरले गरेको १० हजार पूर्व–सिमुलेसनका आधारमा घरेलु टोली मेक्सिकोले जित्ने सम्भावना ६६.३ प्रतिशत देखाएको छ ।
यसै समूहको अर्को खेलमा दक्षिण कोरिया र चेक रिपब्लिक आमनेसामने हुँदै छन् । सुपरकम्प्युटरको प्रक्षेपणअनुसार दक्षिण कोरियाको जित्ने सम्भावना ४२.९ प्रतिशत रहँदा चेक रिपब्लिकको सम्भावना ३१.१ प्रतिशत मात्रै सीमित छ ।
नयाँ कीर्तिमान र भौगोलिक चुनौती
मेक्सिकन टोलीका अनुभवी गोलरक्षक गुइलेर्मो ओचोआ यसपटक मैदान उत्रिँदै छैटौँ पटक विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाउने दाउमा छन् । अर्कोतर्फ सन् २०१० मा घरेलु मैदानमा विश्वकप खेलेपछि दक्षिण अफ्रिका पहिलो पटक यस प्रतियोगितामा फर्किएको हो ।
यसपटक मेक्सिकोमा हुने खेलहरूमा खेलाडीले भौगोलिक उचाइको ठुलो चुनौती सामना गर्नुपर्ने देखिन्छ । खेल हुने मेक्सिको सिटी स्टेडियम समुद्री सतहबाट करिब २ हजार २ सय २५ मिटर र ग्वाडालाहारा मैदान १ हजार ५ सय ६६ मिटर उचाइमा रहेका छन् ।








प्रतिक्रिया