
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले दुईवटा समस्याग्रस्त सहकारीका १ सय ३२ ऋणीको नामावली सार्वजनिक गरेको छ ।
सरकारले समस्याग्रस्त घोषणा गरेका हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडका १२ जना र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १ सय २० ऋणीको नाम समितिले बाहिर ल्याएको हो ।
गत वैशाख २३ गतेको निर्णयअनुसार समितिले आफ्नो प्रणालीमा उपलब्ध ऋण विवरणका आधारमा यो नामावली सार्वजनिक गरेको बताएको छ । यस प्रक्रियामा यसअघि नै ऋण चुक्ता गरिसकेका तर प्राविधिक वा अन्य कारणले नामावलीमा नाम समावेश हुन पुगेका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ ।
कार्यालयले ऋण तिर्न बाँकी रहेका सबै ऋणीलाई यथाशीघ्र सम्पर्क राखी रकम चुक्ता गर्न कडा निर्देशन दिएको छ । तोकिएको समयभित्र ऋण नसल्टाए प्रचलित कानुनबमोजिम कडा असुली प्रक्रिया अघि बढाउने चेतावनी समितिले दिएको छ ।
सहकारीको रकम संकलन गरी बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ ।








प्रतिक्रिया