राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र नतिजामुखी कार्यसम्पादन सम्बन्धी १ सय बुँदे कार्ययोजनालाई आत्मसात् गर्दै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ सेवा सुरु गरेको छ। बैंकले ग्राहक सेवालाई थप सरल र प्रविधिमैत्री बनाउन डिजिटल माध्यमबाट घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको हो।

Advertisement

यस प्रयास मार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाउने अपेक्षा बैंकले राखेको छ। कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्थाबारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई यस सेवाले पूर्ण रूपमा सम्बोधन गर्नेछ।

अनलाइन कर्जा आवेदनका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘अनलाइन लोन एप्लिकेसन’ को लिङ्क क्लिक गरी डिजिटल लोन पोर्टलमा जानुपर्नेछ। उक्त पोर्टलमा आफ्नो इमेल, युजरनेम र पासवर्ड राखी दर्ता प्रक्रिया पूरा गर्नुपर्ने बैंकले जनाएको छ।

दर्तापछि आफ्नो नाम र सम्पर्क मोबाइल नम्बरसहितको विवरण प्रविष्ट गरी प्राप्त निर्देशन अनुसार आवेदन प्रक्रिया अगाडि बढाउन सकिनेछ। आवेदन प्रणालीमा दर्ता भइसकेपछि सोको जानकारी ग्राहकले तुरुन्तै पाउने व्यवस्था गरिएको छ।

ग्राहकले आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने कुरा ‘ट्र्याक प्रोग्रेस’ मा क्लिक गरेर सजिलै हेर्न सक्नेछन्। यसका साथै ग्राहकवर्गको सहजताका लागि बैंकले अनलाइन कर्जा आवेदन पोर्टलको क्यूआर कोड समेत उपलब्ध गराएको छ।

विक्रम संवत् २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले आम नागरिक र व्यवसायीलाई यस सेवाको लाभ उठाउन अनुरोध गरेको छ। बैंकले हाल ७ वटै प्रदेशका ७७ वटै जिल्लामा ३ सय १६ शाखा कार्यालयहरू मार्फत आधुनिक डिजिटल बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री