
स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा हालसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको छ। बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै उक्त भुक्तानीसँगै विक्रम संवत् २०८२ साल मंसिर मसान्तसम्मको सम्पूर्ण दाबी बक्यौता फछ्र्यौट भएको जानकारी दिएको हो।
मंसिर महिना पछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रमले नागरिकको उपचारमा हुने व्यक्तिगत खर्च न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ।
दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक संस्थाहरूलाई समयमै भुक्तानी गर्न कतिपय अवस्थामा असहज स्थिति सिर्जना भएको बोर्डले स्वीकार गरेको छ। बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानीको प्रक्रिया जारी रहेकाले बिमित नागरिकहरूको उपचारमा कुनै पनि अवरोध सिर्जना नगर्न आग्रह गरेको छ।
निर्धारित मापदण्ड बमोजिम गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराइदिन बोर्डले स्वास्थ्य संस्थाहरूसँग हार्दिक अनुरोध समेत गरेको छ। यसका साथै बोर्डले बिमित सेवाग्राहीहरूलाई पनि स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सही सदुपयोग गर्न अपिल गरेको छ।
बोर्डले सेवाग्राहीहरूलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन आग्रह गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने बोर्डको भनाइ छ।
स्वास्थ्य बीमा बोर्ड नागरिकको वित्तीय जोखिम न्यूनीकरणका लागि प्रतिबद्ध रहेको र आगामी दिनमा सेवालाई थप व्यवस्थित बनाउँदै लैजाने जनाएको छ। स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग नियमित संवाद भइरहेको समेत विज्ञप्तिमा उल्लेख छ।










प्रतिक्रिया