
विश्वकप फुटबलमा मेक्सिकन टोलीले ऐतिहासिक जित दर्ता गर्दै अर्को चरणमा प्रवेश गरेको खुसीयाली मनाउने क्रममा मेक्सिको सिटीमा दुःखद घटना भएको छ। उत्सव मनाउने क्रममा सडकमा ओर्लिएको विशाल भीडमा च्यापिएर कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय सरकारले पुष्टि गरेको द गार्जियनले उल्लेख गरेको छ।
मेक्सिको सिटीको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा एक १९ वर्षीया युवती र एक ४४ वर्षीय पुरुष रहेका छन्। उनीहरूको अत्यधिक भीडमा च्यापिएर वा निसास्सिएर मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमहरूले तेस्रो व्यक्तिको पनि मृत्यु भएको समाचार प्रसारण गरे पनि सरकारी अधिकारीहरूले भने त्यसको आधिकारिक पुष्टि गरिसकेका छैनन्।
मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै सन् १९८६ पछि विश्वकपको नकआउट चरणमा पहिलोपटक जित दर्ता गरेपछि समर्थकमा खुसीयाली छाएको थियो। सह-आयोजक मेक्सिको अन्तिम १६ मा पुगेको ऐतिहासिक उपलब्धिको उत्सव मनाउन समर्थकहरू सडकमा उर्लिएका थिए।
नगर सरकारको अनुमान अनुसार मेक्सिको सिटीका सडकहरूमा १० लाखभन्दा बढी मानिसहरू विजय उत्सव मनाउन भेला भएका थिए। उत्सवको मुख्य केन्द्र ‘एन्जेल अफ इन्डिपेन्डेन्स’ स्मारक बनेको थियो, जहाँ विशाल जनसागर उर्लिएको थियो।









प्रतिक्रिया